यु-१४ फुटबल : होलिल्याण्ड स्कुल छात्रा टिम फाइनलमा प्रवेश
नेपालगन्ज : यु-१४ फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा होलिल्याण्ड स्कुल छात्रा टिम फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसैगरी छात्रातर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।
यसैगरी छात्र तर्फको खेलमा कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले बालज्योति एकेडेमी कोहलपुरलाई ३–० ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीसँग खेल्नेछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।








