बर्दियाको शान्ति पुनर्स्थापना गृहको सामाजिक लेखापरीक्षण सम्पन्न
संजय आचार्य । गुलरिया
शान्ति पुनर्स्थापना गृह बर्दिया शाखाको वार्षिक सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ।
संस्थाले २०८१/८२ आर्थिक वर्षमा सञ्चालन गरेका गतिविधिहरूको समीक्षा तथा मूल्याङ्कन गर्न वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम आइतबार सम्पन्न गरेको हो ।
“हाम्रो आह्वान मानव बेचबिखनविरुद्धको अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा संस्थाले मानव बेचबिखन, पुनर्स्थापना र सशक्तिकरणका क्षेत्रमा गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गृहकी संयोजक सपना शर्माले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू र भावी योजनाहरू प्रस्तुत गर्दै विगत एक वर्षको उपलब्धि तथा चुनौतीहरूबारे जानकारी गराएकी थिइन् । उनले गत वर्ष ४३ जनाको उद्दार गरिएको र ४ हजार ८८९ जनालाई परामर्श सेवा प्रदान गरिएको बताइन्। उनका अनुसार, मानव बेचबिखनबाट प्रभावित महिला तथा बालबालिकालाई पुनर्स्थापना र पुनःसमाजिकरणमा सहयोग पुर्याइँदै आएको छ।
शर्माले प्रस्तुत गरे अनुसार २०८१र८२ मा सञ्चालन भएका कार्यक्रमहरूको कूल खर्च ७० लाख ७१ हजार रुपैयाँ बराबर रहेको थियो। संस्थाले बढैयाताल गाउँपालिका–कण्ठपुर, गुलरिया नगरपालिका–सुरजपुर र गणेशपुर, मधुवन नगरपालिका–धनौरा लगायतका सिमानाका क्षेत्रमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले मानव बेचबिखन र लागूपदार्थ नियन्त्रणका क्षेत्रमा सामाजिक चेतना फैलाउने उद्देश्यले सडक नाटक, अन्तर्क्रिया कार्यक्रम र सचेतना अभियानहरू सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रमको प्रमुख अतिथि समन्वय समिति बर्दियाकी उप प्रमुख अमिता यादवले संस्थाले प्रहरी प्रशासन तथा सरोकारवाला निकायसँग समन्वय गर्दै काम गर्न सुझाव दिइन । उनले समितिले समन्वय गर्नुपर्ने ठाउँमा सधै सहयोग गर्ने बताइन ।
गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतमले बर्दियाको सीमा नाका क्षेत्रमा हाल चार वटा संस्थाहरू सक्रिय रहेको बताइन्। उनले शान्ति पुनर्स्थापना गृहले उत्कृष्ट काम गर्दै आएको उल्लेख गर्दै संस्थाहरुले उद्दार गरिएका व्यक्तिहरूको अनुसन्धानपश्चात् मात्र कानूनी प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिइन्।
त्यसैगरी, संस्थापक अध्यक्ष शान्ता सापकोटाले विगतमा भएका चुनौती र उपलब्धिहरूको स्मरण गर्दै कुनै पनि चेलीबेटी आर्थिक प्रलोभनमा परी बेचिन नपरोस् भन्ने संस्थाको मुख्य उद्देश्य रहेको बताइन्। उनले सबै निकाय र समुदायले मानव बेचबिखन विरुद्ध एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिइन्।
वक्ता र सहभागीहरूले सिमानाका क्षेत्रमा मानव बेचबिखन नियन्त्रण तथा लागूपदार्थ विरुद्ध काम गर्न अझै ठूलो चुनौती रहेको बताए। उनीहरूले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी समन्वय भए मात्र यस्ता अभियानहरू अझ प्रभावकारी हुने धारणा राखे।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष मदनकृष्ण मानन्धर, सल्लाहकार युवराज खरेल, लेखा प्रबन्धक दिनेश्वर गौड धुरिमा, राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराई, क्षेत्रीय संयोजक सञ्जित सिंह, साथै स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, महिला समूहका सदस्यहरू र विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।









