एवन बजार भव्य रुपमा सम्पन्न

नेपालगन्ज : एक्टिभ उमन अफ नेपाल (एवन)ले यो वर्ष पनि काठमाडौंमा एवन बजार आयोजना गरेको छ ।
नेपालस्थित अमेरिकी राजदूत डीन. आर. थम्पसन र उनकी धर्मपत्नी तथा एवनकी मानार्थ अध्यक्ष जेन क्रिल थम्पसनले शनिबार काठमाडौंको पाँच तारे होटल सोल्टीमा बजारको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि जेल क्रिलले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘एवन बजार हाम्रो लागि सधैं विशेष रहन्छ । हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ आउँछौँ । यस वर्षको बजार निकै व्यवस्थित र सफल देखियो । उपलब्ध सामग्रीको गुणस्तर उत्कृष्ट छ, विविधता धेरै छ, र किफायती मूल्यमा एकै ठाउँमा सबै वस्तु पाइने सुविधा निकै उपयोगी छ ।’

बजारमा हस्तकला, फेसन वस्तु, घरायसी सजावट तथा चाडपर्वका सामग्री, स्टार्टअप उत्पादन, अर्गानिक सामग्री गरी १०० भन्दा बढी स्टलले बिक्री तथा प्रदर्शन गरेका थिए । आगन्तुकका लागि खानाका स्टल र बालमैत्री गतिविधिहरू पनि राखिएको थियो । बजारमा प्रवेश निःशुःक गरिएको थियो । कार्यक्रमबाट संकलित रकम एवनले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग र सामाजिक सेवा परियोजनामा विनियोजन गरिने जनाइएको छ।

चार दशकभन्दा बढी समयदेखि बजार निरन्तर हुँदै आएको छ । ७७ वर्षअघि स्थापना गरिएको एवन प्रारम्भमा अमेरिकी दूतावाससँग जोडिएका केही महिलाहरूको समूहका रूपमा सुरु भए पनि अहिले नेपाली तथा विदेशी महिलाहरूलाई समेट्ने समावेशी सामाजिक संस्था बनेको छ।
एवन की अध्यक्ष बाबा सरकार श्रेष्ठले बजारको सफलताप्रति खुशी व्यक्त गर्दै भनिन्, ‘यस वर्षको क्रिसमस बजार अत्यन्तै सफल रह्यो। प्रायोजक, सहभागी, स्वयंसेवक र आगन्तुक सबैलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको सहयोगले नै हामीले सञ्चालन गर्दै आएका च्यारिटी तथा समुदाय–मुखी कार्यक्रमहरूलाई निरन्तरता दिन सम्भव भएको छ। सबैलाई हार्दिक धन्यवाद ।’ यो वर्ष कार्यक्रमलाई यात्रा म्यागजिन, नेपाल एयरलाइन्स, आइविबी अष्ट्रेलिया, बुद्ध एअर, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स, रुपीज इन्टरनेशनल स्कुल र डाबर नेपालले प्रायोजन गरेका थिए ।