‘बर्न इन्जुरी’ गम्भीर तर ध्यान नदिइने स्वास्थ्य समस्या
मञ्जु थापा मगर
दाङकोे बगलाचुली–४ की पाँच महिनाकी मनिषा सुनारले आगोले जलेर हात गुमाउनु पर्यो । अनुहार, हात, पेटको छेउ र खुट्टा गम्भीर रूपमा जलेको छ । १५ असार २०८२ को बिहान मनिषाकी आमाले परालको चुल्होमा खाना बनाइन् । छोरीलाई चुल्हो नजिकै सुताएर भातभान्सापछि घाँस काट्न खेततिर गइन् । चुल्होको आगो राम्रोसँग निभेकै थिएन । मनिषा चुल्हो नजिक पुगिन् । लुगामा आगो सल्कियो । त्यतिबेला उनका बाबु घरमै थिए, तर उनी निद्रामा भएकाले बच्चालाई के भएको हो थाहा पाएनन् । आमा घर फर्किंदा जलिरहेको गन्ध आएपछि भान्सातिर गइन् । मनिषालाई अचेत र जलेको अवस्थामा भेटिन् । उपचारपछि डाक्टरले उनको एउटा हात बचाउन सकेनन् ।

मनिषा जलेर अपाङ्ग भएको एउटा घटना मात्र होइन् । भेरी अस्पतालको बर्न वार्डमा मैले धेरै बच्चाहरूलाई अत्यधिक जलन र संक्रमणका कारण उपचारकै क्रममा ज्यान गुमाएको देखेकी छु । बालखैमा जीवनभरका लागि अपाङ्ग हुने त कति हुन्छन्, हुन्छन् ? हरेक दिन म अस्पतालको बर्न वार्डमा साना बालबालिकासँग भेटिन्छु । जसको जीवन आगलागी वा जलेर भएको दुर्घटनाले ठूलो रूपमा प्रभावित भएको हुन्छ । धेरै बच्चाहरू ५ महिनादेखि ३ वर्षसम्मका हुन्छन् । उमेरले धेरै जिज्ञासु, तर पूर्ण रूपमा वयस्कको निगरानीमा निर्भर । यी घटनाहरू हेर्दा स्पष्ट हुन्छ कि धेरै दुर्घटना थोरै मात्र सावधानीले रोक्न सकिन्थ्यो ?
नेपालमा बालबालिकामा हुने बर्न इन्जुरी अझै पनि गम्भीर तर प्रायः ध्यान नदिइने स्वास्थ्य समस्या हो । धेरै घरमा खुला आगो वा ग्यास चुल्हो प्रयोग हुन्छ । उम्लँदो पानी वा तातो भाँडो बच्चाको हात पुग्ने ठाउँमै राखिने गर्छ । कहिलेकाहीँ अभिभावकले एकछिनका लागि बच्चालाई एक्लै छाडिदिन्छन्, र त्यही एकछिनले ठूलो क्षति निम्त्याउन सक्छ ।
वार्डमा म धेरै बच्चाहरूलाई उपचार भइरहेका देख्छु । कसैको छालाको रंग परिवर्तन भएको हुन्छ । कसैलाई संक्रमण भएको हुन्छ र धेरैका दाग दीर्घकालसम्म रहने प्रकारका हुन्छन् । शारीरिक घाउसँगै मानसिक प्रभाव पनि ठूलो हुन्छ, बिरामी बच्चा मात्र होइन, अभिभावक पनि डर, चिन्ता र पछुतोमा हुन्छन् । काउन्सेलिङका बेला अभिभावकहरू प्रायः भन्छन्, ‘म एक मिनेट मात्र बाहिर गएथे । मले यस्तो हुन्छ भनेर सोचेको थिइन ।’ यी वाक्यहरूले उनीहरूको अपराधबोध र असहायतालाई देखाउँछन् । धेरैजना खान–सुत्नसमेत गाह्रो भएको बताउँछन् । केही आमाहरू आफैँले गल्ती गरे जस्तो महसुस गर्छन् । मेरो भूमिका तिनीहरूलाई भावनागत रूपमा सन्तुलन गर्न मद्दत गर्नु हो, तर त्यहीसँगै यस्तो दुर्घटना अरू बच्चामा नदोहोरियोस् भन्ने चाहना पनि बराबर हुन्छ ।
यस कामले मलाई बुझाइदिएको छ कि अभिभावक शिक्षा अत्यन्त आवश्यक छ । तीन वर्षमुनिका बच्चाले वरपरका वस्तु स्पर्श गर्न खोज्छन् तर जोखिम चिन्न सक्दैनन् । त्यसैले बाल सुरक्षा केवल आमाको जिम्मेवारी होइन, बुबा, हजुरबुबा–हजुरआमा, दिदीबहिनी सबैले ध्यान दिनुपर्छ । धेरै घटना तब हुन्छन् । जब एक जना अभिभावकले अर्काले हेरिरहेको होला भनेर सोच्छन् । घरमा सबै मिलेर सुरक्षित वातावरण बनाउनु आवश्यक हुन्छ । माया मात्रै पर्याप्त हुँदैन, सजगता, उपस्थिति र साझा जिम्मेवारी त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
त्यसैले बर्न प्रिवेन्सन, घरेलु सुरक्षा र अभिभावक शिक्षामा समुदायस्तरमै जागरुकता आवश्यक छ । अस्पताल, विद्यालय र स्थानीय संस्थाहरूले मिलेर अभिभावक र हेरचाहकर्तालाई आवश्यक व्यवहारिक जानकारी र सीप दिन सकिन्छ ।
बर्न इन्जुरी केवल शारीरिक चोट होइन—यसले व्यक्तिको आत्मधारणा र समाजसँगको सम्बन्धमा पनि असर पार्छ । परिवारलाई पुनः समाजमा सहज रूपमा फर्किन सहयोग गर्नु मेरो कामको महत्वपूर्ण हिस्सा हो । हामीले कसरी जिज्ञासु नजर वा असहज प्रश्नको सामना गर्ने र बच्चाको आत्मविश्वास विस्तारै कसरी बढाउने भन्नेबारे चर्चा गर्छौ । कहिलेकाहीँ म पनि असहाय महसुस गर्छु, जब बच्चाले पीडाको कारण रोइरहेक हुन्छ वा ड्रेसिङ बदल्दा फेरी डराउँछ तर समयसँगै मैले बुझें कि उपचार भनेको सबै पीडा हटाउनु होइन, सुरक्षित र सहयोगी वातावरण बनाइदिनु पनि त्यत्तिकै महत्त्वपूर्ण हो ।
यी सबै अनुभवहरूले मलाई सिकायो कि मनोसामाजिक सहयोग कुनै अतिरिक्त सुविधा होइन—उपचारको आधारभूत आवश्यकता हो । शारीरिक उपचारसँगै भावनात्मक उपचार अनिवार्य छ । ती बालबालिकाको धैर्य, आमाहरूको प्रतिबद्धता र सम्पूर्ण स्वास्थ्यकर्मीको सहकार्यले हरेक दिन मलाई यो पेसा किन छानेँ भन्ने कुरा फेरि सम्झाइरहन्छ ।








