सत्ती भन्सारको चौमासिक राजस्व लक्ष्यभन्दा १ करोड कम
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिक राजस्व लक्ष्य भन्दा एक करोड कम भएको छ ।
कार्यालयका निमित्त प्रमुख पदम भट्टका अनुसार चालू आर्थिक वर्षमा भन्सार विभागले सत्ती भन्सारलाई कार्तिक महिनासम्म ५ करोड ३२ लाख ७१ हजार रुपैयाँ लक्ष्य तोकेकोमा ४ करोड ३२ लाख ६५ हजार ५ सय ८५ रुपैयाँ मात्र असुली गरेको हो । जुन राजस्व लक्ष्यभन्दा १८.७८ प्रतिशतले कम हो ।
पछिल्लो चार महिनामा संकलन भएको राजस्व हेर्दा कार्यालयले साउनमा ६३ लाख ३७ हजार १३२ रुपैयाँ अर्थात लक्ष्यको ४९.१७ प्रतिशत, भदौमा ९० लाख ७० हजार १२४ रुपैयाँ अर्थात लक्ष्यको ६७.४३ प्रतिशत असोजमा १ करोड ६८ लाख १७६ रुपैयाँ अर्थात लक्ष्यको १२७.७१ प्रतिशत र कार्तिक १ करोड १९ लाख ८२ हजार २१५ रुपैयाँ अर्थात लक्ष्यको ८१ प्रतिशत लक्ष्य प्राप्त गरेको देखिन्छ ।
साउन ,भदौ र कार्तिकमा लक्ष्य हासिल गर्न सकेको छैन भने असोजमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा सत्ती भन्सार कार्यालयले १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको निमित्त कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिए । गत आर्थिक वर्षमा कार्यालयले १२ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १४ करोड ३७ लाख ८२ हजार रुपैयाँ असुली गरेको थियोे ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा यस नाकाबाट निर्यात शून्य रहेको छ । निर्यातको तुलनामा आयात बढ्दै जाँदा बर्सेनि व्यापार घाटा चुलिएको देखिन्छ । विशेषगरी यस नाकाबाट कपडा हार्डवयर र सिजनेवल सामान भित्रिने गरेको छ ।
भन्सार आयात बर्सेनि वृद्धि भए पनि निर्यात भने न्यून रहेको छ । सरकारले आयात दर घटाउन विभिन्न योजना ल्याए पनि घट्नुको साटो बढ्ने क्रममा रहेको छ ।








