महेन्द्र पुस्तकालयको अध्यक्षमा पुनः यादव र सचिवमा निरौला
नेपालगन्ज : महेन्द्र पुस्तकालयको अध्यक्षमा दोस्रो कार्यकालका लागि बलराम यादव निर्वाचित भएका छन् ।
पुस्तकालयको शुक्रबारदेखि सुरु भएको १८औंं अधिवेशन तथा ८०औं साधारणसभामाको निर्वाचनमा अध्यक्ष पदमा अरु कसैको उम्मेदवारी नपरेपछि यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
कार्य समितिको उपाध्यक्षमा पंकजकुमार श्रेष्ठ, सचिव सतिश निरौला र कोषाध्यक्षमा अजयकुमार टण्डन पनि निर्विरोध नै निर्वाचित भएका छन् । सहसचिवमा भने ललिता उपाध्याय र मोहम्मद अशफाक जसगढको उम्मेदवारी परेको छ । ४ जना कार्य समिति सदस्यमा भने ६ जनाको उम्मेदवारी दर्ता भएको छ । संयोजक गौतमका अनुसार मो.आरिफ अन्सारी, विष्णुप्रसाद सुवेदी, जमिल अहमद सिद्धिकी, श्याम विहारी गुप्ता, पुष्पा सुवेदी, चन्द्रावती अधिकारी, सुनिल भण्डारी र सुशीलकुमार चौधरीले उम्मेदवारी दिएका छन् । सहसचिव र सदस्य पदमा शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ । कार्य समितिको तीन वर्षे कार्यकाल हुनेछ ।
यसअघि शुक्रबार बिहान लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्द शत्रले सचिव मणिदेव अर्यालको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अजयकुमार टण्डनको आर्थिक प्रतिवेदन सर्वसम्मत् रुपमा पारित गरेको थियो ।









