नेपालगन्ज म्याराथनको उपाधि खड्का र हाफ म्याराथन न्यौपानेलाई

नेपालगन्ज म्याराथनका विजेता खड्कबहादुर खड्का र हाफ म्याराथन महिलातर्फको उपाधि विजेता पूर्णलक्ष्मी न्यौपाने । फोटो : सौजन्य नेपालगन्ज म्याराथन

नेपालगन्ज : नेपाली सेनाका धावक खड्कबहादुर खड्काले धारा नेपालगन्ज म्याराथन र सेनाकै पूर्णलक्ष्मी न्यौपानेले हाफ म्याराथन महिलातर्फको उपाधि जितेका छन् ।
नेपालगन्जको वीपी चोकमा शनिबार सम्पन्न म्याराथनको ११औं संस्करण साबिक विजेता खड्काले आफ्नो पूरानो रेडक ब्रेक गर्दै जितेका हुन् । खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका थिए । गत संस्करणको विजेता हुँदा खड्काले निर्धारित दुरी २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा दुरी पार गरेका थिए ।
त्यसैगरी २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गर्दै नेपाली सेनाकै अर्का धावक सुशीलकुमार शाही दोस्रो भए । शाही गत वर्ष भने तेस्रो भएका थिए । छैठौं र नवौं संस्करणका विजेता शसस्त्र प्रहरीका धावक गोपीचन्द्र पार्कीले भने यस पटक तेस्रोमै चित्त बुझाउनु परेको छ । २ घण्टा १९ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गरेका छन् । विजेता खड्काले २ लाख नगद, दोस्रो भएका शाहीले १ लाख र तेस्रो भएका पार्की ५० हजार पुरस्कार जितेका छन् ।
यस्तै, हाफ म्याराथन महिलातर्फको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । उनी पाँचौं संस्करणकी विजेता पनि हुन् । उनले उपाधिसँगै नगद ७५ हजार पुरस्कार हात पारेकी छन् । त्यस्तै हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फुलमती राना दोस्रो हुँदा तेस्रो कर्णाली प्रदेशकी सन्दीवा बुढा भएकी छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लुइँटेल, नेपालगन्ज म्यारथनका संस्थापक टीएस ठकुरी, प्रायोजक केएल दुगद ग्रुपका सिइओ प्रदिप छाछेड लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।