सुनौलो महिला सहकारी गुलरियालाई उत्कृष्ट सदस्य सम्मान

संजय आचार्य । गुलरिया
बर्दिया गुलरियाको सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मानित भएको छ।
रुपन्देहीकोे तिलोत्तमामा शनिबार सम्पन्न राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभाको अवसरमा
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सम्मान–पुरस्कार कार्यदल संयोजक विजया धिताल तथा बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सहकारीलाई संयुक्त रूपमा प्रशंशा पत्र प्रदान गरिएको हो ।
गुलरिया ६ मा केन्द्रीय कार्यालय रहेको सहकारीले लुम्बिनी प्रदेशका सदस्य सहकारी संस्थाहरूमध्ये सहकारी विकास, प्रवर्द्धन तथा सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान गरेको मूल्यांकन गरिएको छ । कार्यक्रमका वक्ताहरूले सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले समुदायमा आधारित आर्थिक, सामाजिक र सांस्कृतिक विकासका क्षेत्रमा देखाएको सक्रियता अन्य सहकारीका लागि आदर्श बनेको बताएका थिए।
सम्मान प्राप्तपछि संस्थाकी निर्वतमान अध्यक्ष इन्दिरा सुवेदीले यो उपलब्धिले सहकारीलाई अझ जिम्मेवार, पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढ्न प्रेरणा दिएको बताइन्। “यो सम्मानले हाम्रो हौसला बढाएको छ। आगामी दिनमा सदस्यमैत्री सेवा, सुशासन र आर्थिक सशक्तीकरणमा अझ सुदृढ भएर अघि बढ्नेछौं,”– सुवेदीले भनिन्।

सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले विगत लामो समयदेखि महिला तथा किशोरीमैत्री कार्यक्रमहरू, शिक्षा र चेतना अभिवृद्धि, आय–आर्जनका अवसर, सीप विकास तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। विशेष गरी स्थानीय समुदायमा आर्थिक सशक्तीकरण, आत्मनिर्भरता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदान व्यापक रूपमा प्रशंसनीय मानिएको छ।
सहकारीले आगामी दिनमा सदस्यहरूको जीवनस्तर सुधार, सहकारी शिक्षा विस्तार, सीपमूलक कार्यक्रम विस्तार र समावेशी नेतृत्व विकासमा अझ प्रभावकारी पहल गर्ने जनाएको छ। सम्मानले सहकारी क्षेत्रको विकासमा प्रतिस्पर्धात्मक तथा गुणस्तरीय कार्यशैलीलाई प्रवर्द्धन गर्ने विश्वास सहकारीको छ ।