गुलरिया नगर स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

संजय आचार्यगुलरिया
बर्दियाको गुलरिया नगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड तथा छैठौं मेयर कप खेलकुद प्रतियोगिता-२०८२ सुरु भएको छ।
खेलकुद क्षेत्रको विकास, विद्यार्थीको क्षमता अभिवृद्धि तथा विद्यालयस्तरीय प्रतिभा पहिचान गर्ने उद्देश्यसहित सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सोमबार उद्घाटन गरे ।
कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले खेलकुदले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरपालिकाभित्रका विद्यार्थीहरुको लुकेका खेल प्रतिभा उजागर गर्दै खेलकुदलाई शैक्षिक यात्राको महत्वपूर्ण हिस्सा बनाउँदै लैजाने नगरपालिकाको प्रतिबद्धता गरे ।
प्रतियोगितामा विभिन्न एथलेटिक्स तथा समूहगत खेलहरू समावेश गरिएका छन्। १५०० मिटर, १०० मिटर, ४०० मिटर, २०० मिटर, ८०० मिटर दौडका साथै लङ्ग जम्प, ट्रिपल जम्प, हाई जम्प, जाभलिन थ्रो, सर्ट पुट जस्ता व्यक्तिगत खेलसहित क्रिकेट खेलहरू सञ्चालन हुँदै छन्।

प्रतियोगितामा प्राथमिक सामुदायिक २७, प्राथमिक संस्थागत विद्यालय ७, आधारभूत सामुदायिक ९, आधारभूत संस्थागत १, माध्यमिक सामुदायिक १०, माध्यमिक संस्थागत ५ गरी जिल्लाका ५९ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिता मंसिर ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।