लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान : गुलरियामा बिहान र्‍याली र साँझ दीप प्रज्वलन

संजय आचार्य । गुलरिया
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार बर्दियाको गुलरियामा र्‍याली र दीप प्रज्वलन गरिएको छ । गुलरिया नगरपालिका भवनबाट बिहान ११ बजे निकालिएको सचेतनामूलक र्‍यालीले नगर परिक्रममा गरेको थियो । र्‍यालीका क्रममा सहभागीहरूलाई सेतो रिबन वितरण गरी लैङ्गिक हिंसाबिरुद्ध एकताबद्ध सन्देश प्रवाह गरिएको थियो। नगर परिक्रमापछि र्‍याली पुनः नगरपालिका परिसरमै आइपुगेपछि कोणसभा गरिएको थियो ।
अभियानका गतिविधिहरूले समुदायमा लैङ्गिक समानता, सुरक्षा, मानवअधिकार र पीडितमैत्री वातावरण निर्माणमा सबैको ध्यानाकर्षण गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ। स्थानीय सरकार, नागरिक समाज, स्वास्थ्य स्वयंसेविका, नेपाल प्रहरी, सामाजिक अभियन्ता तथा विभिन्न सरोकारवाला निकायहरूको प्रत्यक्ष सहभागितासहित र्‍याली सम्पन्न भएको थियो।
यसै क्रममा मंगलबार साँझ ५ बजे राधाकृष्ण चोकमा दीप प्रज्वलन गरिएको अभियान संयोजक उप मेयर सावित्रा गौतमले बताइन् । दीप प्रज्वलनमार्फत लैङ्गिक हिंसाका विरुद्ध एकता, आशा र न्यायको प्रकाश फैलाउने सन्देश दिन लागिएको गौतमले बताइन् ।
गुलरिया नगरपालिकाले १६ दिने अभियानको अवधिभर विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सूचनामूलक सन्देशमार्फत समुदायमा लैङ्गिक हिंसाका रूप, प्रभाव र रोकथामका उपायबारे जनचेतना अभिवृद्धि गर्ने योजना बनाएको नगरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गीता बाकवाले जानकारी दिइन्।
‘अभियानभरि निरन्तर कार्यक्रमहरू सञ्चालन गरी हिंसा–मुक्त समाज निर्माणमा सहयोग पुग्नेछ’, प्रमुख बाकवाले भनिन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइन्छ । महिलामाथि हुने घरेलु हिंसा, दुर्व्यवहार, जबरजस्ती करणी, मानव बेचबिखन लगायतका विभिन्न हिंसात्मक घटनाबारे जनचेतना फैलाउने र हिंसा–मुक्त समाज निर्माणमा योगदान पुर्‍याउने यस अभियानको उद्देश्य रहेको छ ।