गुलरियाका मधेशी महिला भन्छन् : अझै लैङ्गिक हिंसा छ

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकाका मधेशी महिलाले समाजमा अझै पनि लैङ्गिक हिंसा रहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था गुलरियाले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गुलरिया–७ की कल्पना यादवले पछिल्ला वर्षमा पनि समाजमा हिंसाका घटनामा खासै कमी नआएको चिन्ता ब्यक्त गरिन् । सडक नाटक, श्रव्य–दृश्य सामग्री तथा विभिन्न सचेतनामूलक कार्यक्रमले लैङ्गिक हिंसा मुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको सुझाव थियो।
गुलरिया–९ की जमुनाकुमारी पासीले छोराछोरीबीच भेदभाव गर्न नहुनेमा जोड दिइन् । उनले समाजमा अझै पनि विभिन्न रूपका हिंसा रोकिन नसकिरहेको उल्लेख गर्दै शिक्षा र सीप बिना व्यक्तिले समाजमा परिवर्तन ल्याउन कठिन हुने बताइन्। उनले लैङ्गिक हिंसाबिरुद्ध गाउँ–गाउँमा सचेतनामूलक कार्यक्रम विस्तार गर्न आग्रह गरिन्।
कार्यक्रमबारे जानकारी दिँदै संस्थाकी निर्वतमान अध्यक्ष इन्दिरा सुवेदीले सहकारीले विगतदेखि नै किशोरीमैत्री कार्यक्रम, शिक्षा, आय–आर्जनका अवसर तथा नेतृत्व विकासमा निरन्तर काम गर्दै आएको बताइन्। उनले स्थानीय समुदायमा महिलाहरूको आर्थिक सशक्तीकरणसहित सामाजिक परिवर्तनमा संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजान सुझाव राखिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष खुमा पोख्रेलले जिल्लाभरका किशोरी तथा महिलालाई विभिन्न सीप तथा ज्ञानमा सक्षम बनाउन आवश्यक रहेको बताइन्। उनले दुई वर्षअघि आफ्नो परिचय दिन पनि हिचकिचाउने ग्रामीण बस्तीकी किशोरीहरू आज रूपान्तरण कक्षामार्फत कार्यक्रम सञ्चालन गर्न सक्ने स्तरमा पुगेको उल्लेख गरिन्। पोख्रेलले सेनिटरी प्याड निर्माण सिक्न इच्छुकलाई सहकारीमा सम्पर्क गर्न पनि आग्रह गरिन्।
रूपान्तरण कक्षाका किशोरी मोनिका कुछबदियाले कार्यक्रम सन्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य जमुना पासीले गरेकि थिइन् । कार्यक्रममा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गाना, सहकारीका सेयर सदस्य, स्थानीय प्रतिनिधि तथा सरोकारवाला गरी करिब २०० जनाको सहभागिता रहेको थियो।