बाँकेको खजुरामा टिनको छानारहित विद्यालय बनाइँदै

सीगाउँ (बाँके) : बाँकेका खजुरा गाउँपालिकाले टिनको छानारहित विद्यालय बनाउन थालेको छ । गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै विभिन्न दातृ निकायको सहयोगमा टिनको छाना विस्थापित गरिरहेको छ ।

खजुरा-२ गुराँसपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको ३ कोठे पक्की भवन र २ कोठे शौचालयको बुधबार शिलन्यास गर्दै गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले यस्तो जानकारी दिएकी हुुन् । उनका अनुसार गत वर्ष ६ वटा विद्यालयमा पक्की भवन बनाइएको र यो वर्ष थप ३ वटा विद्यालयमा पक्की भवन बनाइरहेको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल गुणस्तरीय शिक्षाका लागि विद्यालयका पूर्वाधार विकासमा जोड दिएको बताए । सो अवसरमा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँसभाबाट पारित टिनको छानारहित विद्यालय भवन बनाउने नीति अनुरुप १०६ दिनमै विद्यालयका पक्की भवन बनाइरहेको बताए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष धनराम ओलीले अभिभावकले सामुदायिक विद्यालयमा पढ्ने कोठा नै छैनन् भन्ने गुनासो नसुन्ने गरी काम थालिएको बताए । आफ्नो वडामा २०२४ सालमै स्थापना भएको नेराप्राविमा पर्याप्त जग्गा हुँदा हुँदै भवनको अभाव भएकाले गाउँपालिकाले तीन कोठे भवन र २ कोठे शौैचालय बनाउन पहल गरेको जानकारी दिए । उनले अभिभावकलाई तरकारी बालीलाई हेरचाह गरे जस्तै आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगी दाता विल्ड अन नेपालका फिल्ड संयोजक महेश रानाले विद्यालयमा बन्ने पूर्वाधारबारे जानकारी गराएका थिए ।

खजुरा गाउँपालिकाको १० लाख रुपैयाँ र विल्ड अन नेपालकोे ३५ लाख रुपैंयामा तीन कोठे भवन र दुई कोठे शौचालय निर्माण हुुनेछ । विल्ड अनले नगद उपलब्ध गराउने भन्दा पनि आवश्यक सम्पूर्ण निर्माण सामग्री उपलब्ध गराउने गरेको छ ।