महिलामाथि डिजिटल प्लेटफर्ममार्फत हिंसा बढ्दै

संजय आचार्य । गुलरिया
महिलामाथि डिजिटल प्लेटफर्ममार्फत हुने हिंसा र दुव्र्यवहारका घटना बढ्दो अवस्थामा रहेको भन्दै सरोकारवालाले सुरक्षा र सर्तकर्ता अपनाउन आग्रह गरेका छन् ।
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान समितिले बुधबार आयोजना गरेको सामाजिक सञ्जालको प्रयोग, सुरक्षा र सचेतनामूलक भूमिकाबारे अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख गीता बाकावलका अनुसार पछिल्ला वर्षहरूमा डिजिटल प्लेटफर्ममार्फत हुने हिंसा र दुव्र्यवहारका घटना बढ्दो अवस्थामा रहेकाले स्थानीय तहबाटै रोकथामका पहलहरू आवश्यक भएका छन्। उनले विशेषगरी सामाजिक सञ्जालमा हुने धम्की, अपमान, बदनाम गर्ने गतिविधि तथा अनावश्यक मित्रता अनुरोधजस्ता जोखिमबारे सचेत रहन सबैलाई आग्रह गरिन्।
कार्यक्रमका सहभागीहरूबीच सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल सुरक्षाका आधारभूत उपाय तथा अनलाइनमा देखापर्न सक्ने संवेदनशील घटनाबारे खुला रूपमा सुझाव र अनुभव आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारा प्रस्तुत गर्दै समुदायमै डिजिटल सुरक्षा संस्कृति विकास गर्न आवश्यकतामाथि जोड दिइयो। वक्ताहरूले बालबालिका र युवाहरू सबैभन्दा धेरै जोखिममा पर्ने समूह भएकाले विद्यालय, परिवार र समुदायले संयुक्त रूपमा निगरानी र मार्गनिर्देशन गर्नुपर्ने उल्लेख गरे।
अन्तरक्रियामा अधिवक्ता लक्ष्मी नेपालले सामाजिक सञ्जाल सुरक्षित रूपमा कसरी उपयोग गर्ने, गोपनीयता कायम कायम गर्ने तरिका, अनलाइन दुव्र्यवहारको पहिचान तथा उजुरी प्रक्रिया बारे विस्तृत जानकारी दिइन्। उनले अनलाइन हिंसाका घटनामा लजाएर चुप लाग्ने भन्दा पनि प्रमाण सुरक्षित गरी सम्बन्धित निकायमा उजुरी दिने प्रवृत्ति विकसित गर्नुपर्नेमा जोड दिइन्। साथै विधमान कानुनको र वर्दियामा भएको पछिल्लो अवस्थाको वारे जानकारी दिइन ।
१६ दिने अभियान मूल समारोह समितिकी संयोजक सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल र प्राक्टिकल एक्सनलगायत साझेदार संस्थाहरूको सहयोग रहेको थियो। स्थानीय तह, समुदाय र नागरिक समाजको सहकार्यमा आगामी दिनमापनी लैङिगक हिंसा नियन्त्रणका कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाइएको छ।
१६ दिने अभियान’ अन्तर्गत नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।