टीकापुरका सी डिभिजन फुटबल खेलाडी ठकुल्लालाई सम्मान

टीकापुर : १६ वर्ष मुनिको सी डिभिजन राष्ट्रिय लिग फुटबल खेलेका खेलाडी चरण ठकुल्लालाई टीकापुरमा सम्मान गरिएको छ । कैलालीको टीकापुर नगरपालिका ६ मा केन्द्रीय कार्यालय रहेको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार सम्पन्न १७औं वार्षिक साधारणसभामा खेलाडी ठकुल्लालाई उदयीमान खेलाडीको रुपमा नगद एक हजार एक सय, सम्मान पत्र र फुटबलसहित सम्मान गरेको हो ।
ठकुल्लाले यो वर्ष काठमाडौंको चर्र्चित फुटबल क्लब संकटाबाट राष्ट्रिय स्तरको १६ वर्ष मुनिको सी डिभिजन लिग फुटबल खेलेका छन् । यस क्षेत्रबाट सी डिभिजन खेल्ने ठकुल्ला एक्ला खेलाडी हुन् ।
साधारणसभामा सहकारीले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल कर्णाली माध्यमिक विद्यालय सत्तीका विद्यार्थी अंकित टमट्टा र लोक तथा देउडा गीत प्रतिष्ठानका सदस्य पदमबहादुर धामी सम्मान गरेको थियो । सहकारीले तल्लो भेग अन्तरगत गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवालाई पनि सम्मान गरेको थियो। त्यस्तै सहकारीले १६ जना जेष्ठ नागरिकहरुलाई कम्मलसहित सम्मान गरेको छ । उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी लगायतलाई पनि सम्मान गरेको थियो ।
सहकारीले आर्थिक वर्ष २०८१र०८२ मा साढे ९० लाख खुद नाफा कमाउन सफल भएको छ । सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा गत वर्ष ९० लाख ५३ हजार ४ सय ७६ रुपैयाँ ५९ पैसा खुद नाफा कमाउन सफल भएको हो । एक हजार तीन सय ९३ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ३० लाख ५० हजार दुई सय ५० पुगेको छ भने ११ करोड तीन लाख ९ हजार एक्क सय ३० रुपैयाँ ५४ पैसा निक्षेप सापटी रहेको छ । १३ करोड ८३ लाख ६० हजार ८ सय ३० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्षतामा भएको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले लक्ष्मीनारायण सहकारील्र सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको भनेर प्रशंशा गरे । गत आर्थिक वर्ष टीकापुर नगरपालिका वडा नं. को आर्थिक सहयोगमा निर्माण कार्य शुरु भएर अधुरो भवनको निर्माण कार्य नगरपालिका पालिकाले सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए ।
टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि दीर्घबहादुर ठकुल्लाले सहकारीहरु हाम्रा सप्पत्ती रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताए । उनले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण जीवनयापन गर्न सहज भएको अनुभव सुनाए ।
कार्यक्रममा शेयर सदस्य जनक चौधरी, उमा भट्टराई, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद चौधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणपुरकी सभापति धनसरी कुमारी कोइराला, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितराम चौधरी, टीकापुर नगरपालिका वडा नं. ४ वडा अध्यक्ष लालवीर चौधरी लगायतले सहकारीलाई सफलताको शुभकामना दिएका थिए । संस्थाका सचिव ओपेन्द्रबहादुर खड्काले सन्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष युवककुमार नायकले दिएका थिए ।









