बाँके निकुञ्जमा जीप सफारी प्रबर्द्धन गर्न पर्यटनकर्मीको सामूहिक लगानीमा गाडी सञ्चालन !

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा जीप सफारी प्रबर्द्धन गर्न जिल्लाका पर्यटनकर्मीले सामूहिक लगानीमा गाडी किनेर सञ्चालनमा ल्याएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका पदाधिकारी तथा आवद्ध पर्यटन व्यवसायीहरूले पर्यटन गतिविधिको प्रसार-प्रसार, प्रबर्द्धन तथा पैरवी गर्न आफ्नै नयाँ सफारी जीप सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिए । गाडीको अघिल्लो भागको शीशामा नाट्टा बाँके च्याप्टरमा आबद्ध पर्यटनकर्मीद्वारा सञ्चालित लेखिएको छ ।

सफारी सुरु गर्नुअघि अध्यक्ष रेग्मीसहितका पदाधिकारी र सदस्यले शक्तिपीठ बागेश्वरीमा विधिपूर्वक जीपको पूजा–आराधना गरेका थिए । संस्थाको बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज प्रवेशद्वारमा रिबन काटेर जंगल सफारी सेवाको औपचारिक शुभारम्भ गरेका थिए । त्यसपछि १५ जना पर्यटन व्यवसायीले निकुञ्जमा अध्यनात्मक जंगल सफारी गरेका थिए ।