बर्दियामा लैङ्गिक हिंसा चुनौतीपूर्ण रहेको ठहर !

संजय आचार्य । गुलरिया
लैङ्गिक हिंसा अझैं पनि चुनौतीपूर्ण रहेको बर्दियाका सरोकारवालाहरुले ठहर गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्ध सञ्चालन गरिएको १६ दिने अभियानको बुधबार समापन समारोेहका वक्ताहरुले लैङ्गिक हिंसा अझै पनि समाजको गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि घर, परिवार, समुदाय, स्थानीय तह र राज्य सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘सबै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ’ तथा राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको थियो।
अभियान मूल समारोह समितिका संयोजक एवं गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौतमले आगामी दिनमा पनि लैङ्गिक हिंसा नियन्त्रण तथा न्यूनिकरणका कार्यक्रम निरन्तर सञ्चालन गरिने बताइन ।
अभियान अवधिभर गुलरिया नगरपालिकाभित्र विविध जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख गीता बाकाबलले जानकारी दिइन्। उनका अनुसार सचेतनामूलक र्‍याली, सेतो रिबन वितरण, दीप प्रज्वलन, सामाजिक सञ्जालको सुरक्षित प्रयोगसम्बन्धी अन्तरक्रिया, मानव बेचबिखन नियन्त्रण तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सम्पन्न भएका थिए। साथै विश्व एड्स दिवस र अपाङ्गता दिवसका अवसरमा सहयोग तथा सम्मान कार्यक्रमसमेत गरिएको थियो।
समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सतिस यादव, विभिन्न वडाध्यक्ष, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले अभियानको महत्वबारे प्रकाश पार्दै प्रविधिको सही प्रयोगमार्फत हिंसा रोकथाममा एकजुट हुनुपर्नेमा जोड दिएका थिए । गुलरिया नगरपालिका सभाहलमा आयोजित समापन कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि र स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।