जब कथाकार शाह कृति बोकेर विद्यार्थी माझ पुगे…
कोहलपुर : साहित्यका विद्यार्थी पुस्तकमा कथा पढ्छन् । कथाकारसँग उनीहरुको न चिनजान हुन्छ । न साइनो नै । पाठ्यक्रम पढ्छन् । परीक्षा दिन्छन् । पास हुन्छन् ।
बाँके कोहलपुरको ज्ञान बहुमुखी क्याम्पसमा शुक्रबारको माहोल अलि बेग्लै थियोे । पाठ्यपुस्तकका कथाकार नभए पनि विद्यार्थीले लघु कथाकार जीतबहादुर शाहसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाए । उनको नविनतम् कृति धानाकर्षणमाथि अन्तरक्रिया पनि गरे । विद्यार्थीले कृतिमाथि दर्जन बढी प्रश्न सोधेका थिए । लेखक पनि खुसी । विद्यार्थी पनि सन्तुष्ट ।
कृतिकार शाहले आफ्नो लेखनको विषयवस्तु समाज र विद्यार्थी भएकोले साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया गर्न पाउँदा खुुसी लागेको प्रतिक्रिया दिए । अध्ययन र अभ्यासले मानिसलाई परिपक्व बनाउने बताउँदै साहित्यमा अध्ययन र अभ्यासको औचित्व उनले औलाएका थिए । शाहको धानाकर्षण लघुकथा संग्रहमा ५६ वटा कथा छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले विद्यालय तथा विश्वविद्यालयहरूमा लेखकसङ्ग अन्तरक्रिया तथा विधागत कृतिहरु माथि समीक्षात्मक कार्यक्रमको अभ्यासले साहित्य क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले यस्ता कार्यक्रमले नयाँ सर्जक जन्माउन तथा साहित्यका पाठकहरू बढाउन मद्दत पुग्ने दाबी गरे ।
प्राज्ञ ढकालले पछिल्लो समय बाँके बर्दियाका सर्जकहरूलाई उत्प्रेरित गर्ने गरी जीतबहादुर शाह जस्ता अनुभवी लेखकहरू साहित्य सिर्जनामा सक्रिय भएको देख्दा खुुसी लागेको भन्दै शाहको प्रशंशा गरे ।
उनले साहित्य र जीवन एक अर्काका परिपुरक भएको बताउँदै साहित्य सिर्जनाले कल्पनाशीलता बढाउने भएकोले विद्यार्थीहरूका लागि साहित्यिक माहोल झनै आवश्यक रहेको बताए ।
कार्यक्रममा समालोचक डम्बर खत्रीले शाहको कृति ू ध्यानाकर्षणको समीक्षा गर्दै अनुभवहरूको सङ्गालो भएको टिप्पणी गरे । जुनसुकै उमेर समूहका व्यक्तिहरूका लागि समेत उपयुक्त रहेको यो सङ्ग्रहले राजनीतिक, सामाजिक र शेैक्षिक विषयवस्तुलाई बढी जोड दिएको बताए ।
ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा विमला खत्रीले स्वागत र उपप्रध्यापक दिनेश अर्यालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभाकर विश्वकर्मा, भीम खरेल, केशव सिग्देल, तिलक केसी, डोलराज अर्याल लगायत दर्जनौं उपप्रध्याक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।









