निबन्ध लेखनबारे नेपालगन्जमा अन्तरक्रिया
नेपालगन्ज : साहित्यको निबन्ध विधाबारे नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।
महेन्द्र पुस्तकालयको आयोजनामा सोमबार बाँकेका साहित्यकारबीच निबन्ध लेखनबारे अन्तरक्रिया गरिएको हो । कार्यक्रममा २०६५ सालमा एक हातको ताली नामक निबन्ध संग्रहबाट मदन पुरस्कार विजेता युवराज नयाँघरेले निबन्धको विषय, लेखन विधि, शैली र संरचनाका बारेमा प्रकाश पारेका थिए । निबन्धकार नयाँघरेले निबन्ध लेखनलाई विगतमा जटिल बनाइए पनि संस्मरण, संवाद, आख्यानलाई समेटेर सरल भाषा शैलीमा लेख्न सकिने सुझाव दिएका थिए ।
महेन्द्र पुस्तकालयका उपाध्यक्ष पंकजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कथाकार सनद रेग्मीले निबन्धकार नयाँघरेको व्यक्तित्व र कृतिकाबारे चर्चा गरेका थिए ।
सो अवसरमा प्राज्ञ शशीराम कार्की, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.पुष्कर रिजाल, साहित्यकारहरु इन्द्र भण्डारी र खगेन्द्र गिरी कोपिलाले निबन्ध लेखनको विषयवस्तु, वाद, विधि, लेखन शैली र शिल्पबारे निबन्धकार नयाँघरेसँग जिज्ञासा राखेका थिए ।








