बर्दियामा जिल्ला स्तरीय संयुक्त अनुगमन सम्पन्न
संजय आचार्य । गुलरिया
जिल्ला समन्वय समिति बर्दियाको संयोजकत्वमा बुधबार जिल्ला स्तरीय संयुक्त अनुगमन सम्पन्न भएको छ। साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल तथा कार्यान्वयन साझेदार बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र र बी–ग्रुपको सहकार्यमा उक्त अनुगमन गरिएको हो।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टको संयोजकत्वमा सम्पन्न अनुगमनमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संयुक्त अनुगमन अन्तर्गत मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा अपाङ्गमैत्री कक्षाको अवस्था अवलोकन गरिएको थियो। त्यस्तै, ठाकुरबाबा नगरपालिकाको श्री चुरे माध्यमिक विद्यालय बगनाहामा स्थापना गरिएको विज्ञान प्रयोगशालाको अनुगमन गरियो । साथै ठाकुरद्वारा गाउँपालिका वडा नम्बर ३ मिर्चैयामा सञ्चालनमा रहेको स्थानीय कुखुरापालन फर्मको समेत स्थलगत अनुगमन गरिएको थियो।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र र बी–ग्रुपसँग सहकार्यमा गरी मधुवन र ठाकुरबाबा नगरपालिकामा सञ्चालन गरिएका कार्यक्रमहरूको संयुक्त अनुगमन गरेको जनाएको छ। अनुगमनको प्रमुख उद्देश्य सञ्चालनमा रहेका गतिविधिहरूको गुणस्तर, प्रभावकारिता, लाभार्थीहरूको सन्तुष्टि तथा स्रोतको सदुपयोगको अवस्था मूल्याङ्कन गर्नु रहेको थियो।
अनुगमनका क्रममा मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा उपलब्ध गराइएको नेपाली सांकेतिक भाषा सामग्री तथा ठाकुरबाबा नगरपालिकाको चुरे माविमा उपलब्ध गराइएको विज्ञान प्रयोगशाला सामग्रीको प्रयोगको अवस्था अवलोकन गर्दै सम्बन्धित शिक्षक र प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरिएको थियो। साथै उद्यमशीलता विकास सहयोग प्राप्त गरेका स्थानीय पसलहरू तथा कुखुरापालन उद्यमहरूको समेत अनुगमन गरिएको थियो। उक्त भ्रमणलाई राधाकृष्ण थारू जनसेवा केन्द्रका मनोज पौडेलले सहजीकरण गरेका थिए।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले अपाङ्गता भएका विद्यार्थीका लागि तयार गरिएका कक्षाकोठा तथा विज्ञान प्रयोगशाला सामग्रीको प्रशंशा गर्दै यस्ता सामग्रीहरूको उचित उपयोग र प्रभावकारी नतिजा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै उनले सबै संस्थाहरूले स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रमको सुरुवातदेखि लेखा परीक्षणसम्म जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए।
जिल्ला समन्वय समिति उपप्रमुख अनिता यादव, कार्यालयका अधिकृत रामबहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाकी अधिकृत पद्मकुमारी श्रेष्ठ, खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर विशाल श्रेष्ठ, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण थारुले भए गरेका कामहरुको अनुगमन गरेका थिए ।
अनुगमनमा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्मा, बाँके युनेस्को क्लबकी अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बी–ग्रुपका प्राविधिक संयोजक जयलाल विकलगायतको उपस्थिति रहेको थियो ।









