जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
संजय आचार्य । गुलरिया
बर्दियाका विभिन्न स्थानीय तहमा सञ्चालित दिगोपन र लैङ्गिक समानताका लागि एकीकृत विकास परियोजना अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक बिहीबार गुलरियामा सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब, बी–ग्रुप र राधाकृष्ण थारू जनसेवा केन्द्रले बर्दिया जिल्लाका स्थानीय तहमा सञ्चालन गरिरहेका सशक्त बालिका परियोजना, किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना, हरित अर्थतन्त्र परियोजना, बालविवाह रोकथाम परियोजना, प्रयास परियोजना र सुरक्षा परियोजनाले गरेका कामको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले बैठक डाकिएको हो ।
बैठकमा प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुलीले संस्थाले स्थानीय सरकार र सरोकारवालासँगको समन्वय र सहकार्यमा जिल्लामा प्रभावकारी रूपमा काम गरिरहेको बताइन्। उनले आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा गर्दै आगामी दिनमा कार्यान्वयन गरिने कार्यक्रमबारे सुझाव तथा सल्लाह संकलन गरिएको जानकारी दिइन्।
बैठकमा बालअधिकार संरक्षण, लैङ्गिक समानता प्रवर्द्धन, सामाजिक समावेशीकरण तथा समुदायस्तरमा क्षमता विकासका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको विषयमा जानकारी गराइएको थियो। साथै बालविवाह न्यूनीकरण, किशोरी सशक्तीकरण, शिक्षा तथा जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरूको उपलब्धिबारे समेत छलफल भएको थियो।
सहभागीहरूले परियोजनाको दिगोपन सुनिश्चित गर्न स्थानीय तहसँगको समन्वय मजबुत बनाउनुपर्ने, स्थानीय स्वामित्व र समुदायको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए। साथै सीमा क्षेत्रमा अझै काम गर्नु पर्नेमा जोड दिए । बैठकले एकीकृत विकास परियोजनालाई जिल्लाभर थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाबीच सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
जिल्ला समन्वय समिति बर्दियाका संयोजक सूर्यबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख अनिता यादव, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायतले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण प्लान इन्टरनेशनलका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले गरेका थिए। कार्यक्रममा बाँके युनेस्को क्लबका उप निर्देशक गोविन्दप्रसाद लामिछाने, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र बी–ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनार लगायत संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।








