किशोरी क्लबलाई २ लाखको खेलकुद सामग्री वितरण
संजय आचार्य । गुलरिया
सशक्त बालिका परियोजनाले बर्दियाका चार वटा स्थानीय तहका किशोरी क्लबहरूलाई करिब दुई लाख रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरेको छ।
प्लान इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रले उक्त सामग्री शनिबार वितरण गरेको हो।
बर्दियाका चार कार्यक्षेत्र रहेका पालिकाहरू—बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा रहेका १३ वटा किशोरी क्लबलाई जम्मा २ लाख १३ हजार ८ सय ८६ रुपैयाँ बराबरका विभिन्न खेलकुद सामग्री वितरण गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिए। उनका अनुसार किशोरीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्त्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।
कार्यक्रम संयोजक पौडेलले खेलकुद गतिविधिमार्फत किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, समूहमा काम गर्ने सीप तथा सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुने बताए। साथै, किशोरीहरूलाई सक्रिय, सशक्त र आत्मनिर्भर बनाउँदै सुरक्षित तथा समावेशी वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उनले उल्लेख गरे।
सामग्री प्राप्त गर्ने ठाकुरबाबा नगरपालिका मैनवारकी अंकिता थारुले खेलकुद सामग्रीले क्लबस्तरीय गतिविधिहरूलाई थप प्रभावकारी बनाउने र किशोरीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरिन्। उनका अनुसार यसले किशोरीहरूलाई नियमित रूपमा खेलकुद तथा सामाजिक क्रियाकलापमा जोडिन प्रेरित गर्नेछ।
कार्यक्रममा सहभागीहरूले समुदायस्तरमा किशोरीहरूको हक, अधिकार र क्षमताको पहिचान गराउन खेलकुद एक प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरे। राधाकृष्ण थारु जनसेवा केन्द्रले किशोरी सशक्तीकरण, लैङ्गिक समानता तथा समग्र बाल विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताइएको छ। यस्ता कार्यक्रमहरूले स्वस्थ, सक्षम र आत्मविश्वासी किशोरी पुस्ता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।









