बर्दियाको गुलरिया र मधुवनमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका र मधुवन नगरपालिकालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण गरिएको छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत गुलरियाको मथुराहरद्वार स्वास्थ्य चौकीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनको शुक्रबार किशोरी विद्यार्थी नन्दनी यादव, नगर प्रमुख मुक्तिनाथ यादव र प्लान इन्टरनेशलनका निर्देशक जुली गुरुङले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । सोही अवसरमा भवन स्थानीय तहलाई हस्तान्तरण पनि गरियो ।
४५ लाख २७ हजार ८०४ रुपैयाँको लागतमा निर्माण गरिएको भवनबाट गुलरिया नगरपालिकाका वडा नम्बर ८, ९ र १० का किशोरकिशोरीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
गुलरिया नगरपालिकामा वडा नं. ९ का वडा अध्यक्षको अध्यक्षतामा, नगर प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यताका साथै विशेष अतिथिका रुपमा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायणप्रसाद चौधरी लगायत प्लान इन्टरनेशनल नेपालका निर्देशक जुली गुरुङ र पश्चिम क्षेत्रीय प्रबन्धक मीना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, गुलरिया स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरी, प्लान इन्टरनेशलन नेपालका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु, स्थानीय किशोरकिशोरीहरुका साथै स्थानीयको उपस्थिति रहेको थियो ।
नगर प्रमुख यादवले मधेशी समुदाय अझै पनि पछाडि परेको छ अतः यहाँ किशोरकिशोरीहरुलाई सेवा लिन आउनका लागि सम्पूर्ण तह र तप्काबाट वाातावरण सृजना गर्नका लागि पहल गर्न पर्ने कुरामा विशेष जोड दिए ।
त्यसैगरी शुक्रबार नै मधुवन नगरपालिकाको सूर्यपटुवा स्वास्थ्य चौकीमा नवनिर्र्मित किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनको किशोरी विद्यार्थी पार्वती आचार्य, नगर प्रमुख तेजबहादुर भाट र प्लान इन्टरनेशलनका निर्देशक जुली गुरुङले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् । सूर्यपटुवा स्वास्थ्य चौकी भवन ४३ लाख ५६ हजार ३८० रुपैयाँमा बनेको हो । मधुवन नगरपालिकामा वडा नं.१ का वडा अध्यक्ष मीनबहादुर थापाको अध्यक्षतामा, नगर प्रमुख तेजबहादुर भाटको प्रमुख आतिथ्यताका साथै विशिष्ट अतिथि नगर उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, मधुवन नगरपालिकाका नगर प्रवक्ता मेकबहादुर गुरुङ, प्लान इन्टरनेशनल नेपालका निर्देशक जुली गुरुङ र पश्चिम क्षेत्रीय प्रबन्धक मीना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, मधुवन स्वास्थ्य शाखा प्रमुख गीता घिमिरे, प्लान इन्टरनेशलन नेपालका प्रतिनिधिहरु, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु, किशोरकिशोरीहरुका साथै स्थानीयको उपस्थिति रहेको थियो ।
मधुवन नगरप्रमुख तेजबहादुर भाटले भवन निर्माणले किशोरकिशोरीहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन साथै समस्याहरु नलुकाइ स्वास्थ्य संस्थामा समयमा नै आएर परामर्श लिनका लागि आग्रह गर्दै सहयोगी संस्थाहरु प्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा प्लान इन्टरनेशलन नेपालका निर्देशक जुली गुरुङले स्वास्थ्य सेवा भवनबाट धेरै भन्दा धेरै किशोरकिशोरीहरुले गोपनियता र आत्मसम्मानका साथ सेवा लिन पाउने छन र यसले निरन्तरता पाईरहेन छ भन्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताइन् ।
स्वास्थ्य सेवा लिन चाहने किशोरकिशोरीहरुको गोपनियता सुनिश्चित गर्ने, गुणस्तरीय परामर्श सेवाहरु प्रदान गर्ने, आरामदायी प्रतिक्षा सुविधाहरु प्रदान गर्ने, सूचना शिक्षा तथा सन्चार सामग्रीहरु मार्फत किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारेमा जनचेतना फैलाउने, किशोरकिशारी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु मार्फत परिवार नियोजन, यौन संक्रमण, महिनावारी स्वास्थ्य र स्वच्छता र अन्य यौन तथा प्रजनन स्वास्थ्य समस्याको उपचार प्रदान गर्ने उद्देश्यका साथमा” भवनको निर्माण र हस्तान्तरण गरिएको बारेमा परियोजना संयोजक सुरज अर्याल बताउँछन् । अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन निर्माण गरी सहयोग हुने लक्ष्य रहेको छ ।
परियोजनाले दुबै स्वास्थ्य चौकीलाई ८ लाख १७ हजार रुपैयाँ बराबरको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक सामग्रीहरु पनि सहयोग गरेको थियो ।