क्रस-बोर्डर टुरिज्म कन्क्लेभ सम्पन्न
नेपालगन्ज : बाँकेमा तीन दिने क्रस-बोर्डर टुरिज्म कन्क्लेभ आइतबार सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा कन्क्लेभ आयोजना गरिएको हो । कन्क्लेभमा नेपाल भारत सीमामा पर्यटकका लागि एकद्वारको सरल र सहज आवतजावतको व्यवस्था हुनुपर्ने, दुबै देशका पर्यटकीय गन्तव्यमा कनेक्टिभिटी हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।
कन्क्लेभमा नेपाल–भारत सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा अन्तरसंवाद गरिएको थियो । पत्रकार झलक गैरेले सहजीकरण गरेको अन्तरसंवाद कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइयो दीपकराज जोशी, प्रतिनिधिसभाका निर्वतमान सदस्य डा. धवल शम्शेर राणा, पर्यटनकर्मी श्रीराम सिग्देल र बाँकेका प्रहरी प्रमुख अंगुर जीसी वक्ता रहेका थिए । वक्ताहरुले अन्तरदेशीय संवादले पर्यटन सम्बन्धी सीमा क्षेत्रका समस्या समाधान गर्न दुबै देशले ध्यानाकर्षण गरेको बताएका थिए ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार कन्क्लेभमा भारत उत्तर प्रदेशका विभिन्न सहरहरु लखनउ ,आग्रा, कानपुर, रायबरेली, गोरखपुर, बहराइच लगायतका सहरका ४२ जना टुर अपरेटरको सहभागिता रहेको थियो । भारतीय पर्यटकलाई शक्तिपीठ बागेश्वरीको दर्शन, क्रस बौर्डर टुरिज्म अन्तरसंवाद, बिटुबी , क्यासिनो भिजिट, नेपाली सांस्कृतिक कार्यक्रम र बाँके राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण (सफारी) गराएर आइतबार अपरान्ह नेपालगन्जबाट विदाइ गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।









