सोफिया स्कुल २१औं वार्षिकोत्सव : विविधतामा एकताका ६ सन्देश

नेपालगन्ज : बाँकेको सोफिया रेसिडेन्सिय स्कुल नेपालगन्जले सोमबार २१औं वार्षिकोत्सव तथा क्रिसमस उत्सव भव्य रुपमा मनायो । समारोह साँच्चीकै उत्सवमय नै बन्यो । जहाँमा विविधतामा एकता देखिने आधा दर्जन कुरा थिए । जसलाई यसरी चर्चा गर्न सकिन्छ :

१. उद्घोषणमा भाषिक विविधता
कुनै औपचारिक कार्यक्रममा कति जना उद्घोषक हुन्छन् ? एउटा, दुई वटा कि बढीमा तीन वटा ? बाँकेको सोफिया रेसिडेन्सिय स्कुलको आइतबार नेपालगन्जमा सम्पन्न २१औैं वार्षिकोत्सव तथा क्रिसमस उत्सव २०२५ मा तपाईले कल्पनै नगरेको संख्यामा उद्घोषक थिए । हेर्दा सानासाना नानीबाबु जस्ता थिए तर उनीहरुले व्यावसायिक उद्घोषक जस्तै बेजोड प्रस्तुती दिए । हरेक इभेन्टमा तीन तीन जनाका दरले उद्घोषक मञ्चमा आउँथे । एउटा उद्घोषकले सुरुमा अंग्रेजीमा बोल्थ्यो । त्यही कुरा अर्को उद्घोषकले नेपालीमा भनिदिन्थ्यो । अन्तिममा तेस्रोले हिन्दी भाषामा दर्शक रुपी अभिभावकले बुझ्ने गरी बोल्थ्यो । यो श्रृङ्खला एक पटक होइन, दुई पटक होइन, कार्यक्रमका ४५ वटा इभेन्टमा फरक फरक उद्घोषक थिए । सबैले मन्त्रमुग्ध पार्दै उद्घोषण गरेर गएका थिए । कक्षा ९ देखि ११ कक्षाका २३ जना विद्यार्थीले उद्घोषकको भूमिका निर्वाह गरेका थिए ।स्मारिका बुढा (कक्षा १०), श्रीयांश सिंह केसी (कक्षा ९), भाष्कर पोखरेल (कक्षा १०), प्रनिश थापा (कक्षा १०), एन्डु वर्णवास धिताल (कक्षा १०), शिवेश देव (कक्षा १०), क्याथरिन यमि बसेल (कक्षा १०), वैभवी सोनी (कक्षा ९), आराध्या गुुप्ता (कक्षा ९) र उत्साह श्रेष्ठ (कक्षा १०)ले अंग्रेजी भाषामा एंकरिङ (उद्घोषण) गरेका थिए । उनीहरुले प्रयोग गरेको भाषाशैली कुनै व्यवसायिक उद्घोषक भन्दा कम्ती थिएन ।
उद्घोषकले अंग्रेजीमा बोलेका कुरालाई करुणा धिताल (कक्षा ११), सुदीक्षा शर्मा (कक्षा १०), प्राप्ती खड्का (कक्षा १०), एञ्जिला प्रधान (कक्षा १०), इसान वर्णवाल (कक्षा १०), सञ्जना मगर (कक्षा ९) र जेनिफर रम्तेल (कक्षा १०)ले नेपाली भाषामा पनि भनेका थिए । प्रस्तुती हेर्दा र सुन्दा त्यो अंग्रेजी उद्घोषणको भाषा अनुवाद थिएन । नेपाली भाषी दर्शक र स्रोताका लागि बुझ्ने छुट्टै उद्घोषण थियो । जान्भी सोनी (कक्षा १०), अनुराग सिंह (कक्षा ९), प्रज्जव सोनार (कक्षा ९), शिभम् साहु (कक्षा ९), आराध्या गुप्ता (कक्षा ९) र वैभवी सोनी (कक्षा ९) ले सम्र्पक भाषा हिन्दीमा कति सुन्दर शब्द रचना गरेर उद्घोषण गरेर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । एकै पटक तीन तीन जना उद्घोषक एकसाथ मञ्चमा उक्लिएर गरेको उद्घोषण निकै नौलो थियो । विद्यार्थीले उद्घोषणको परम्परागत सैद्धान्तिक परिभाषा नै बदल्ने गरी नवीन र रोचक शैलीमा दिएको प्रस्तुती अझ लोभलाग्दो थियो ।

त्यसो त विद्यालय सञ्चालक समिति सदस्य डा. डक्टप्रसाद धिताल, प्रिन्सिपल सुरेश गुरुङ, शिक्षिकाहरु नीता शाह, प्रतिमा बस्याल र रिता चौधरी पनि पटक पटक मञ्चमा उक्लिएका थिए । विद्यार्थीलाई उत्प्रेरित र प्रोत्साहन गर्न उनीहरु अतिथिको आशन ग्रहण, मन्तव्य, मेडल र प्रमाण पत्र हस्तान्तरणका कार्यमा मात्र सिमित थिए । आफूले अत्यन्तै सम्मान गर्ने सर र मेडमको प्रेरणाले विद्यार्थी सांगितिक सबै कार्यक्रममा निर्धक्क भएर बोलिरहेका थिए । तीन भाषाको उद्घोषणपनि कक्षा विशेषका प्रस्तुतीमा अघिल्लो लहरका बालबालिकाले पनि त्यस्तै भाषिक विविधताका आधारित भएर गरेको उद्घोषण पनि कम्ती लोभ लाग्दो थिएन ।
विद्यालयका सिइयो सुशीला बसेलका अनुसार अभिभावकलाई बुझाउन सजिलो होस् भनेर नै विभिन्न भाषामा उद्घोषणको अभ्यास गरिएको हो । ‘हामीले भव्य रुपमा वार्षिकोत्सव र क्रिसमस उत्सव मनाउँछौ्रं । भाषाकै कारण कति अभिभावकले बुझ्नु हुन्न । सबैका लागि सहज होस् भनेर नै उहाँहरुले बुझ्ने गरी बोल्न लगाएका हौं । योे वर्ष अंग्रेजी, नेपाली र हिन्दी तीन भाषामा उद्घोषण भयो । कक्षा विशेषमा थारु भाषामा पनि उद्घोषण भयो । अर्को वर्ष थारु भाषालाई पनि उद्घोषणमा समेट्नेछौं’, बसेलले प्रष्ट पारिन् । एउटै कार्यक्रममा दर्जनौं उद्घोषक राखेर के गर्न खोज्नु भएको हो भन्ने मेरोखुसीको जिज्ञासामा उनले भनिन्, ‘हामीले सबै कार्यक्रम सञ्चालनको जिम्मा त विद्यार्थीलाई दियौं । हरेक कक्षाको नृत्य र नाटक प्रस्तुतीमा पनि अधिकांश बच्चालाई अभिभावकको सामुन्ने उद्घोषण गर्न लगायौं । जसबाट विद्यार्थी भींडमा पनि बोल्न सकोस् । यति भब्य कार्यक्रममा बोल्ने बच्चाले जुनसुकै कार्यक्रममा निर्र्धक्क भएर बोल्न सक्छ । बोलेर पनि बाँच्न सक्छ । यसैलाई करिअर बनाउन सक्छ भनेर उनीहरुको क्षमता विकास र निर्धक्क बोल्न सक्ने सीप विकासका लागि यस्तो अवसर दिएका हौं ।’ बाँकेमा एउटै कार्यक्रममा दर्जनौं उद्घोषक राखेको सम्भवतः यो नै पहिलो घटना हो । जसका कारण कार्यक्रम निर्धारित समयभन्दा ढिलो भएको थियो ।

२. रंग र नृत्यमा विविधता
प्रायः संस्थागत विद्यालयमा चार वटा हाउसमा मात्र सांगितिक प्रस्तुती हुन्छ । त्यहाँ त कार्यक्रममा हरेक कक्षाका विद्यार्थीकोे छुट्टाछुुट्टै नृत्य र सांगितिक प्रस्तुती थियो । विद्यार्थी कलाकारले झन्डै एक दर्जन रंगका बस्त्र लगाएका थिए । जसले शान्ति, सद्भाव, भाइभारा, आत्मियता, संस्कार, सभ्यता जस्ता धेरै विषयकोे सांकेतिक जवाफ दिइरहेका थिए । विद्यालयका प्रिन्सिपल सुरेश गुरुङका अनुसार चौर रुपी ठूलो मञ्चमा झन्डै ८०० विद्यार्थीले एकसाथ रंगीविरंगी पोशाकमा स्थान परिवर्तन गरी गरी झन्डै १० मिनेटसम्म नृत्य गर्दा विविधतामा एकताको सन्देश दिइरहेका थिए । त्यो नृत्यमा प्रयोग भइरहेको गीतमा विद्यालय पढ्न जानुपर्ने, पढेर नै ज्ञानी बनिन्छ, गुरुआमा, गुरुबा, आमाबुबा र अभिभावककोे आज्ञाकारी बन्दा जीवनमा धेरै कुरा सिक्न पाइने र साथीहरुसँग सहयोगी व्यवहार गर्नुपर्ने लगायतका सकारात्मक सन्देश दिइरहेका थिए । एउटै मञ्चमा यत्तिका कलाकारलाई एकसाथ नृत्य गर्ने अवसर प्रदान गरेर उनीहरुको प्रतिभाको प्रफुस्टन गर्न मद्दत गरेको थियो ।

३. अतिथिमा धार्मिक विविधता
कार्यक्रम वार्षिकोत्सव मात्र थिएन । क्रिसमस उत्सव पनि थियो । कार्यक्रमको प्रमुख अतिथि पनि क्रिसमसलाई धार्मिक उत्सवका रुपमा मनाउने ब्यक्तिलाई बनाउन सकिन्थ्यो । तर कार्यक्रमकोे प्रमुख अतिथि नै मुस्लिम समुदायका पूर्वमन्त्री मोहम्मद इस्तियाक राई थिए । उनले उद्घाटन मन्तव्यको क्रममा सरकारसँग क्रिसमसमा सार्वजनिक विदा दिन माग गरेका थिए । मञ्चमा अरु अतिथि पनि अधिकांश हिन्दु र मुस्लिम समुदायबाट नै थिए । इसाइ धर्म मान्ने थोरै थिए । त्यसैले त प्रमुख अतिथि राईले विद्यालयले सामाजिक सद्भावको नमुना काम गरेको भनेर प्रशंशा गरेका थिए ।

४. मेडल र अवार्डमा विविधता
सबै विद्यार्थी पढाइमा मात्र अब्बल हुँदैन । उनीहरुको अब्बलता र क्षमता फरक फरक हुन्छ । पढाइमा अब्बल भएर मात्र हुँदैन । उसको शारिरीक र मानसिक विकास पनि हुुन जरुरी छ । विद्यालयले विद्यार्थीमा भएको प्रतिभा उजागर गर्दै उनीहरुको उत्कृष्टतालाई सम्मान् र पुरस्कृत गरेको थियो । अधिकांश विद्यार्थीलाई पुरस्कार र अवार्र्ड दियो । मेडल र प्रमाणपत्र प्रदान गरियो । कसैले शैक्षिक एकेडेमी अन्तर्गत आफूलाई उत्कृष्ट साबित गरे । कोही सामान्य ज्ञानमा अब्बल रहेछन् । हाजिरी जवाफमा उत्कृष्ट भए । कसैैले चित्रकलाबाट आफूलाई पुरस्कारको दाबेदार बनाए । कोही हाइजिन मेन्टेन्ट गर्न सफल हुँदा अवार्ड जिते । जिल्ला, प्रादेशिक र राष्ट्रिय खेलकुद प्रतियोगिता विजेता खेलाडी झैं स्वर्ण, रजत र काँस्य पदक जितेर विद्यार्थी खुसी देखिन्थे । एउटै विद्यार्थीले चार पाँच वटासम्म अवार्ड जित्दा मेडलका माला लगाएर दङ्ग थिए । यो दृृश्य देख्दा विद्यालयमा पढ्ने कोही विद्यार्थीले हारेनन् । सबैले आफ्नो आफ्नो विज्ञता भएको क्षेत्रबाट जित हासिल गरे । सबै जित जितको अवस्थामा पुगे ।

५. प्रस्तुतीमा विविधता
कार्यक्रममा कक्षागत नृत्य प्रस्तुतीका लागि डाकिन्थ्यो । गीत बजेर विद्यार्थी सिधै नाँच्दैनथे । नृत्य अघि नेपाली र अंग्रेजी भाषामा कविता भन्थे । कि उत्प्रेरक मन्तव्य दिन्थे । त्यो पनि आफ्नै देशको बारेमा । भाषा संस्कृतिका विषयमा । पढ्ने विद्यालयको राम्रा पक्षबारे । बुबाआमा र अभिभावकको प्रशंशा र सम्मानमा । सोफिया जस्तो राम्रो वातावरण भएको विद्यालयमा भर्ना गरेको भनेर अभिभावकलाई धन्यवाद दिनेदेखि अनुुशासन र नैतिक शिक्षाको पाठ पनि विद्यार्थीकै मन्तव्यमा हुन्थ्यो । जुन विशेषण प्रयोग गरी गरी बढाइचढाइ गरेको भन्दा पनि यर्थाथमा आधारित थियो । विद्यार्थीले आफूले देखे, भोगेका आधारमा प्रस्तुत गरेका थिए । यी प्रस्तुती हेर्दा दर्शक विविधतामा रमाएका थिए । घरी हास्थे । कहिले भावुक हुन्थे । प्रस्तुुतीमा लाइभ म्यूजिकले झन रोमाञ्चकता थपेको थियो । गितार, ड्रमसेट, अक्टोप्याड, किबोर्ड, मादल, ढोलक, कंगो र खैजडी जस्ता लाइभ बाजा बजाउने पनि सबै विद्यार्थी नै थिए । स्वागत गर्नेदेखि अतिथि व्यवस्थापनमा खट्ने पनि सबै विद्यार्थी नै थिए ।

६. निम्तोमा विविधता
सामान्यतया कुनै औपचारिक कार्यक्रममा एक जनालाई मात्र आमन्त्रण गरिन्छ । गाउँटोलमा बिहेमा भने घरपरिवार सबैलाई बोलाउँदा चुलो निम्तो दिइन्छ । चुलो निम्तोको झल्को सोफियाकोे निमन्त्रणामा थियो । विद्यालयले हरेक विद्यार्थीसँग अभिभावकलाई निम्तो कार्ड पठाएर परिवारका बढीमा तीन जनासम्म आउन अनुरोध गरेको थियो । चुलो निम्तो पाएर होला । प्रायः दम्पत्ति नै आफ्ना सन्तानको प्रस्तुती हेर्न आएका थिए । बच्चाको प्रस्तुती आउँदा कुर्सीबाट उठेर मोबाइलमा फोटो र भिडियो कैद गर्न मस्त देखिन्थे । दङ्ग थिए । फुरुङ्ग भएका थिए । अभिभावक भनिरहेका थिए, ‘विविधतामा एकताको सन्देश दिने भव्य उत्सव । बधाइ छ सोफिया स्कुल ।’