नरैनापुरको पर्यटन प्रबर्द्धन गर्न ५ बुँदे घोषणा पत्र जारी

लक्ष्मणपुर (बाँँके) : बाँकेको नरैनापुर गाउँपालिकामा पर्यटन प्रबर्द्धनका लागि पाँच बुँदे घोषणा पत्र जारी गरिएको छ ।
नरैनापुर गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार लक्ष्मणपुरमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रममा महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी र गाउँपालिका अध्यक्ष इस्तियाक अमहद शाहले संयुक्त हस्ताक्षर गरी घोषणा पत्र जारी गरेका हुन् । पत्रकार शंकरप्रसाद खनालले कार्यक्रमको प्रस्तुतीका आधारमा घोषणा–पत्र तयार गरी आयोजकलाई हस्तान्तरण गरेका थिए ।
घोषणा पत्रमा नरैनापुर क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार–प्रसार गर्न सबै किसिमका मिडियाबाट समाचार, फिचर, रिपोर्ट र भिडियो डकुमेन्ट्री बनाएर सहकार्य गर्ने, नजिकै रहेको चुरे पहाडलाई पर्यापर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले पदयात्रा (हाइकिङ) को रुपमा अघि सारेका नीति र योजनाबारे मिडियाको क्षेत्रबाट समाचार लेखेर पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने, नरैनापुर गाउँपालिकाका पर्यटकीय गन्तब्यको प्रबर्द्धन र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी प्रचार–प्रसार गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ, जिल्लाका मिडिया हाउस र पत्रकारहरुसँग निरन्तर सहकार्य र सहयोग जारी राख्ने लगायत बुँदाहरु रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष शाहले स्थानीय स्तरमा पर्यटकीय क्षेत्रको विकासमा सक्दो काम गर्दै आएको दाबी गरे । उनले पर्यटन प्रबर्द्धनमा मिडिया र पत्रकारहरुसँग गाउँपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले नरैनापुरको पर्यटन प्रबर्द्धनमा सञ्चार क्षेत्रले खेलेको भूमिका र स्थानीय सरकारले गरेको पहल कदम प्रशंसनीय रहेको बताए । .
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र रहेकाले यहाँ घुम्न आउने पर्यटकलाई आनन्दको अनुभूति हुने बताए ।
महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले नरैनापुर पर्यटनको ‘भर्जिन ल्याण्ड’ भएको जिकिर गरे । कार्यक्रममा नागरिक दैनिकका पत्रकार अर्जुन ओलीले ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयमा आधार पत्र प्रस्तुत गरेका थिए ।

आधार पत्रमा नरैनापुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरु कमल खत्री, बैकुण्ठ अधिकारी, चन्द्रेश्वरराज त्रिपाठी लगायतले सुझाव तथा धारणा राखेका थिए ।