बढैयातालका विद्यालयमा अनलाइन यौन दूर्व्यवहाविरुद्ध जनचेतनामूलक कार्यक्रम

संजय आचार्य । गुलरिया
बर्दियाको बढैयाताल गाउँपालिकाका सामुदायिक विद्यालयमा अनलाइन यौन दूर्व्यवहाविरुद्ध बाल संरक्षण, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार तथा आघात सम्बन्धी विषयमा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
माइती नेपालको आयोजनामा बढैयाताल गाउँपालिका–२ को सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाकी बर्दिया संयोजक गायत्री रिमालका अनुसार ५० जना विद्यार्थीलाई अनलाइन माध्यमबाट हुने यौन दूर्व्यवहारका स्वरूप, त्यसबाट बच्ने उपाय, कानुनी व्यवस्था तथा मानसिक आघातका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी छात्रा मनिशा गिरिले माइती नेपालले गरेको काम अत्यन्त प्रभावकारी रहेको बताउँदै आफूले सिकेका कुरा घरपरिवार र साथीभाइसँग साझा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। छात्र मनिश यादवले पनि यस्ता कार्यक्रमहरू अझै धेरै विद्यालयमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
विद्यालयका प्राधानाध्यापक प्रशुराम सुवेदीले कार्यक्रम प्रभावकारी बनिरहेको बताए ।

त्यसैगरी बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित शारदा माध्यमिक विद्यालयमा पनि जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ लम्सालको उपस्थितिमा आयोजित कार्यक्रममा २५ जना विद्यार्थी सहभागी थिए। प्राधानाध्यापक लम्सालले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कितावी ज्ञानसँगै व्यवहारिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने बताए।
सोही विद्यालयमा अध्यनरत कक्षा ११ का छात्र मुकेश बिक र छात्रा अरुणिमा थारुले पनि कार्यक्रममा सिकेका ज्ञान र सीप समाजमा फैलाउने प्रतिबद्धता जनाए। माइती नेपालले विद्यालयस्तरबाटै किशोरकिशोरीहरूलाई सचेत गराउँदै सुरक्षित र सचेत समाज निर्माणमा निरन्तर काम गरी रहने जनाएको छ ।