माइती नेपालद्वारा बर्दियाका जोखिमपूर्ण यात्रामा रहेका ७२ प्रतिशत बालिकाको उद्दार
संजय आचार्य । गुलरिया
माइती नेपाल बर्दियाले जिल्लामा ७२ प्रतिशत जोखिममा रहेका बालिकाको उद्दार गरेको छ ।
संस्थाले बुधबार गुलरियामा आयोजित मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणसम्बन्धी सन्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा गत वर्ष जोखिमपूर्ण यात्रामा रहेका तथा सीमा नाकाबाट उद्दार गरिएका २८४ जना महिलामध्ये २०४ जना १८ वर्ष मुनिका बालिका रहेका थिए । उद्दार बालिकाको संख्या कूल महिलाको ७१.८३ प्रतिशत होे । ८० जना १८ वर्षभन्दा माथिका महिला रहेको संस्थाकी जिल्ला कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिइन् ।
त्यसैगरी, मानव बेचबिखन तथा सुरक्षित बसाइँसराइ सम्बन्धी जानकारी प्रदान गर्दै ३०९ जनाको पारिवारिक पुनर्मिलन गराइएको थियो । सीमाना नाकामै परामर्श प्रदान गरी ७० जनालाई सुरक्षित रूपमा घर फर्काइएको तथ्याङ्कमा उल्लेख छ ।
संस्थाले श्रम तथा यौन शोषणमा परेका ३ जना बालिकाको भारतबाट उद्दार गरेको थियो । जिल्लामा खोजतलास सम्बन्धी ६६ वटा निवेदनमध्ये १६ जना फेला पारिएका छन्। घरेलु हिंसाका ३९ घटना दर्ता भएकोमा ३६ घटना समाधान गरिएको माइती नेपालले जनाएको छ।
यस्तै, मानव बेचबिखनसम्बन्धी एक मुद्दा दर्ता भएको छ भने जबरजस्ती करणीका १९ घटना दर्ता भई पीडितलाई आवश्यक संरक्षण तथा सहयोग प्रदान गरिएको जानकारी संयोजक रिमालले बताइन् ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूबीच बेचबिखन नियन्त्रणका लागि सञ्चारकर्मी, समुदाय, सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको विषयमा छलफल भएको थियो। सबै पक्षको संयुक्त प्रयासबाट मात्र चेलिबेटी बेचबिखनमुक्त समाज निर्माण सम्भव हुने कुरामा जोड दिइएको थियो ।








