टीकापुरको सामुदायिक सहकारीको नाफा साढे ७६ लाख
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्था एक वर्षमा साढे ७६ लाख मुनाफा कमाउन सफल भएको छ ।
सहकारीको शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ७६ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । २ हजार ४०४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ८९ लाख १८ हजार ३ सय रहेको छ भने १८ करोड ४२ लाख २६ हजार ५७ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको समेत बताएका छन् । उनले सहकारीको मेरुदण्ड भनेको सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नु पर्ने बताए ।
त्यसै गरि बिशिष्ठ अतिथिको आसनबाट टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले सहकारीहरु हाम्रा सम्पत्ति रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका छन् । त्यसैगरी टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण जीवनयापन गर्न सहज भएको बताएका छन् ।
खेलाडी ठकुल्लासहित १० जनालाई सम्मान
वार्षिक साधारणसभाको अवसरमा सहकारीले फुटबल खेलाडी चरण ठकुल्लालाई नगदसहित सम्मान गरेको छ ।
भर्खरै सम्पन्न राष्ट्रिय स्तरको १६ वर्ष मुनिको ए डिभिजनको फुटबल लिग संकट्टा क्लब काठमाडौंबाट खेलिसकेको र कैलाली जिल्लामा शुरु भएको बद्रि कुटा १६ वर्ष मुनिको फुटबल प्रतियोगितामा टीकापुर नगरपालिकाको तर्फबाट सहभागी भएको टिम युथ अफ टीकापुरको क्याप्टेनको रुपमा रहेका चरण ठकुल्लााई उदमान खेलाडीको रुपमा नगद सहित सम्मान गरेको हो।
सोही अवसरमा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी ,जेष्ट नागरिक १० जनालाई कम्बल वितरण गरिएको थियो ।
सहकारी संस्थाका लेखा समितिका सदस्य लीलाराम ढुङ्गानाको स्वागत मन्तब्यसँगै शुरु भएको वार्षिक साधारण सभा कार्यक्रममा शेयर सदस्य नरेश्वर धमाला, पत्रकार भीम बिक, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, सामुदायिक सहकारी संस्थाका पूर्वअध्यक्ष जंगबहादुर साउँद, कर्णाली मावि सत्तीका प्रधानाध्यापक खुमानन्द वली, नारायणपुर रेडक्रसका सभापति धनसरी कोइराला, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना, पूर्व नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन सहकारी संस्थाका सचिव कृत ठकुल्लाले गरेका थिए ।








