बर्दियामा एक हजार बढीले खाए स्वर्णविन्दु प्राशन

संजय आचार्य । गुलरिया
बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको स्वर्णविन्दु प्राशन कार्यक्रममा एक हजारभन्दा बढी बालबालिकाले सेवा लिएका छन्।
बालबालिकाको सर्वाङ्गीण विकास तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सोमबार चौथो पटक सम्पन्न भएको हो।
कार्यक्रममा कुल १ हजार ७६ जना बालबालिकाले स्वर्णविन्दु प्राशन सेवन गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले जानकारी दिए । सेवाग्राहीमध्ये ५८९ जना बालक र ४८७ जना बालिका रहेका छन्। कार्यक्रममा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो।
यसअघि आश्विन महिनामा पहिलो पटक सञ्चालन गरिएको कार्यक्रममा ५ सय ४९ जना बालबालिकाले स्वर्णविन्दु प्राशन सेवन गरेका थिए। त्यसैगरी कार्तिक महिनामा ७ सय १२ जना र मंसिर महिनामा ८ सय ८७ जना बालबालिकाले सेवा लिएको पाण्डेले जानकारी दिए। प्रत्येक महिनामा सेवाग्राहीको संख्या बढ्दै गएको देखिनु कार्यक्रमप्रति अभिभावकहरूको विश्वास बढ्दै गएको संकेत भएको उनले बताए।
आयुर्वेद चिकित्सक डा. प्रतिभा शर्माका अनुसार हरेक महिनाको पुष्य नक्षत्र पर्ने दिन स्वर्णविन्दु प्राशन गरिनुपर्ने शास्त्रीय मान्यता रहिआएको छ। पुष्य नक्षत्रको दिन शरीरका लागि विशेष पोषक मानिने भएकाले यस दिन खुवाइएको स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने विश्वास गरिएको छ।
आयुर्वेद विज्ञानअन्तर्गत बालरोग सम्बन्धी प्रसिद्ध ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको लेह कल्पनाअनुसार स्वर्ण भष्म (सुन) लाई घिउ (ब्राह्मी घृत) र मह लगायतका औषधीय द्रव्यमा मिसाई उमेर अनुसार निर्देशित मात्रामा थोपाको रूपमा सेवन गराउने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ। यसलाई सुरक्षित र लाभदायक मानिने गरिएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत प्रत्येक महिना पुष्य नक्षत्रमा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यस पटकको कार्यक्रममा पुराना सेवाग्राहीको संख्या समेत उल्लेख्य रहेको छ। विवरणअनुसार पुराना सेवाग्राहीमध्ये बालक १८३ र बालिका १४७ गरी जम्मा ३३० जना रहेका छन्।