बाँकेमा १४७औं मेल्भिन जोन : एकैदिन ५ कार्यक्रम सम्पन्न

नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रमको बाँकेमा बुधबार एकैदिन ५ वटा सेवाका कार्यक्रम सम्पन्न भएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार जिल्लाका विभिन्न क्लबहरुले संयुक्त रुपमा र छुट्टाछुट्टै सरसफाइ, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर र खाना खुवाउने कार्यक्रम गरेका हुन् ।
मेल्भिन जोन सप्ताहको पहिलो दिन बिहान लायन्स क्लबले प्रबद्र्धन गरेको नौमति बाजा बजाउँदै प्रभात फेरि सहित नेपालगन्जमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । लायन्सकर्मीहरुले धम्बोजी चोकदेखि पुष्पलाल चोकसम्म सफाइ गरेका थिए ।
त्यसैगरी एरिया नं. ४ अन्तर्गतको जोन नं. १८ का लायन्स क्लब अफ कोहलपुर, प्रोफेसनल, कस्तुरी र भ्यूले संयुक्त रुपमा बैजनाथ गाउँपालिका वडा नंं. १ को दीर्घकालीन अपाङ्गता पुनस्र्थापना केन्द्रमा संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका थिए । त्यसैगरी लायन्स क्लब अफ नेपालगन्ज बजारले जानकी गाउँपालिकामा रहेको समाज विकास तथा प्रबद्र्धन केन्द्रको अनाथ, असहाय तथा सडक बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।
त्यस्तै लायन्स क्लब अफ नेपालगन्ज जीवनले नेपालगन्जको महेन्द्र मावि रानीतलाउमा मधुमेह चेकजाँच र प्रशिक्षण कार्यक्रम गरेको थियो । लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले भने नेपालगन्जको मानव सेवा आश्रममा खाना खुवाएको थियो । यसअघि मंगलबार कोहलपुरको लायन्स क्लब अफ कोहलपुर सयपत्रीले कोहलपुर नगरपालिका १४ को नेरावि मा न्यानो कपडा वितरण गरेको थियो ।
एरिया चिफ खड्काका अनुसार बिहीबार पनि कोहलपुरमा रक्तदान र दन्त परीक्षण, डुडुवा गाउँपालिकाको बेतहनी चौकीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर, महेन्द्र पार्क चिडियाखानामा रहेका वन्यजन्तुलाई दानापानी खुवाउने, न्यानो कपडा वितरण, मधुमेह चेकजाँच गर्ने कार्यक्रम रहेको छ ।