करदाता सेवा कार्यालय गुलरिया खारेज, कार्यालयको काम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सुरु
गुलरिया : बर्दियाको करदाता सेवा कार्यालय गुलरिया खारेज गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को १७ कार्तिक २०८२ को निर्णय अनुसार आन्तरिक राजस्व विभागले सो कार्यालयबाट सम्पादन हुँदै आएका सम्पूर्ण कर सम्बन्धी कार्य तथा सेवाहरू कोष तथा लेखा नियन्त्रक कार्यालय गुलरिया मार्फत प्रदान गरिने भएको छ।
बुधबार गुलरियामा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कोष नियन्त्रक सिद्धराज ओझालाई कार्यालयको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
प्रमुख कर अधिकृत न्यौपानेले कर प्रशासनको संरचनागत सुधार सेवाग्राहीमैत्री बनाउन केन्द्रित रहेको स्पष्ट पारे । उनले भने, ‘करदाता सेवा कार्यालय गुलरियाको खारेजीलाई सेवा कटौतीको रूपमा होइन, सेवा व्यवस्थापनको पुनर्संरचनाका रूपमा बुझ्नुपर्छ। अब कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रदान गरिने सेवाहरू अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुनेछन्। करदातालाई अनावश्यक झन्झट नहोस् भन्नेमा सरकार प्रतिबद्ध छ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ बर्दिया, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बार एशोसिएसन बर्दिया, ठाकुरबाबा नगरपालिका क्षेत्र, निर्माण व्यवसायी संघ, होटल व्यवसायी, घरेलु तथा साना उद्योग कार्यालय लगायत विभिन्न सरोकावाला निकायका प्रतिनिधि, सेवाग्राही तथा उद्योग–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








