नेपालगन्जमा सञ्चार संवाद कार्यालय उद्घाटन

नेपालगन्ज : बाँकेको नेपालगन्जमा मिडिया सम्बन्धी सम्पूर्ण कामहरु एकैथलोबाट गर्ने उद्देश्यले सञ्चार संवाद नामक संस्था खुलेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सोमबार नेपालगन्जमा सञ्चार संवाद कार्यालयको उद्घाटन गरेका हुन् ।
आचार्यले पत्रकारिताको मर्म र मापदण्डभित्र रहेर काम गरे पत्रकारले कुनै समस्या भोग्न नपर्ने स्पष्ट पारे । समुदायस्तरसँग घुलमिल भएर गरेको काम स्मरण गर्दै उहाँले सञ्चार संवादले समाजमा कुनै आक्षेप नलाग्ने गरी जिम्मेवार पत्रकारिता गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको विश्वास र विश्वसनीयता आचारसंहितामा आधारित हुने उल्लेख गर्दै सञ्चार संवादलाई विवादभन्दा टाढा रही तथ्य र सन्तुलनमा आधारित काम गर्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चार संवादको सुरुआतले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ इट्टा थपिएको उल्लेख गरे । सञ्चार संवादका अध्यक्ष डा.डक्टप्रसाद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष निरज गौतम, प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय प्रमुख सविता ढकाल, झलक गैरे लगायत दर्जनौँ पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।