लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकलामा बर्दियाको बंगलामुखी स्कुलका छात्रा ओली प्रथम
नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा बर्दियाकी पूर्णिमा ओली प्रथम भएकी छन् । लुम्बिनी प्रदेश सभाले ९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा बंगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय गुलरियाकी छात्रा ओली प्रथम भएकी हुन् । प्रतियोगितामा माउन्ट भ्यु इंग्लिस बोर्डिङ स्कुल घोराहीकी छात्रा सलिना पौडेल दोस्रो र सोही विद्यालयका सिद्धान्त अधिकारीलाई तेस्रो भएका थिए ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले विजेता तीनै जनालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुधबार राप्ती उपत्यका (देउखुरी)मा ९औं प्रदेश स्थापना दिवसको उद्घाटन गरेका हुन् ।
प्रदेश प्रमुख घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयतालाई बलियो बनाउने काम प्रदेश सरकारबाट भएको जिकिर गरे।
उनले संघीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ ।
सो अवसरमा प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए। पूर्वमुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए। प्रदेशको नवौं स्थापना दिवसको अवसरमा प्रदेश सरकारले बुधबार बिदा दिएको थियो ।









