गुलरियामा २६ माघदेखि बहुसांस्कृतिक महोत्सव हुँदै

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा बहुसांस्कृतिक महोत्सव हुने भएको छ। कृष्णसार जनचेतना स्पोर्टस् क्लब बर्दियाले गुलरिया नगरपालिकाको संरक्षणमा आगामी २६ माघदेखि ७ फागुनसम्म कृषि, पर्यटन, उद्योग, व्यापार तथा बहुसांस्कृतिक गुलरिया महोत्सव-२०८२ आयोजना गर्न लागेको हो ।
कृषि, पर्यटन, उद्योग, व्यापार तथा बहुसांस्कृतिक पहिचानको संरक्षण र प्रबर्द्धन गर्दै शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यका महोत्सव आयोजना हुन लागेको शनिबार गुलरियामा आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गुलरिया नगरपालिका–६ स्थित विजय गेट हाउसको पछाडि सञ्चालन हुने भएको छ। महोत्सवबाट गुलरिया नगरपालिका ४ कैलासनगरमा निर्माणाधीन शिवशक्ति बुढानीलकण्ठ मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको आयोजक आयोजक अध्यक्ष एस.के. सिद्धार्थ खनाल तथा संयोजक राजु भण्डारीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
महोत्सवले धार्मिक आस्थासँगै सामाजिक विकास र सांस्कृतिक संरक्षणलाई जोड्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा कृषि उत्पादन प्रदर्शनी, घरेलु तथा साना उद्योगका सामग्री, पर्यटन प्रबर्द्धनका गतिविधि, व्यापारिक गरी एक सय बढी स्टल तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष खनालले बताए । महोत्सवमा एक सय वटा स्टल रहने छन् । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान, उद्यमी तथा व्यापारीलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि प्रवेश टिकट दर रु. १०० तोकिएको छ। विद्यार्थीहरूलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपाङ्ग तथा अशक्त व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, धार्मिक पर्यटन विकास तथा सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।