बाँके र बर्दियामा इ-ड्राइभको ट्याक्सी र बाइक सेवा सुरु

 Photo : RSS

नेपालगन्ज : ट्याक्सी र बाइकको अनलाइन राइड सेयरिङ कम्पनी इ–ड्राइभ लुम्बिनीले बाँके र बर्दियामा सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले शनिबार नेपालगन्जमा इ–ड्राइभको औपचारिक शुभारम्भ गरेका हुन् । नेपालगन्ज शाखा प्रमुख बासु भण्डारीका अनुसार पहिलो चरणमा बाँके र बर्दियामा १५ वटा गाडीमार्फत सेवा सञ्चालन गरिन लागेको हो ।
कम्पनीले बुटवल र भैरहवाबाट करिब १८ महिनादेखि सेवा दिँदै आएको इ-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए। उनले कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिमको धनगढीमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए । हाल कम्पनीसँग ११० वटा गुलाबी रंगका गाडी र ५०० वटा मोटरसाइकल रहेको बताउँदै अध्यक्ष गुप्ताले यस सेवामार्फत युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना भएको दाबी गरे।
‘इ–ड्राइभ नेपाल’ मोबाइल एप र वेबसाइटमार्फत सेवा लिन सकिनेछ।