टीकापुरमा स्रोत नखुलेको सवा ६ लाखसहित एक भारतीय पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–९, खक्रौला क्षेत्रबाट स्रोत नखुलेको नगद रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उत्तर प्रदेश राज्यको लखिमपुर जिल्लाका ३० वर्षीय योगेश कुमारलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरी चौकी कालाकु्ण्डाका इन्चार्ज प्रहरी नायव निरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
प्रहरीले उनको साथबाट स्रोत नखुलेको ६ लाख २३ हजार नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ। उनी यु.पी. ३१ बि.एफ. ७१६१ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।








