जानकी प्रथम साहित्यिक महोत्सव : साहित्यकार, पत्रकार र कलाकारलाई सम्मान
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा साहित्यिक महोत्सव, सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान, मुसायरा र कवि सम्मेलन गर्दै जानकी पर्यटन प्रबद्र्धन तथा प्रथम साहित्यिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज र जानकी गाउँपालिकाले संयुक्त रुपमा शनिबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, अवधी भाषा, साहित्य, समालोचनाका विशिष्ट व्यक्तित्व डा. रामबहादुर मिश्र (लखनउ), नाट्यकर्मी कलाकार गणेशभक्त गौतम, जगतराम यादव, बरिष्ठ पत्रकारद्वय सिराज खान र झलक गैरे, वरिष्ठ साहित्यकार बच्छराज यादव, कलाकार खगेन्द्र नेपाल, प्रदीप साहनी, अतिक कासगन्जवी, शारिक रब्बानी, रईस बहराइची, बम्पर बहराइची र पिके प्रचण्डलाई सम्मान गरिएको हो ।

सो अवसरमा साहित्यकार डा. राजकुमार थारु र ईश्वरीप्रसाद रिजालले जानकी पर्यटन प्रवर्द्धनः वर्तमान अवस्था र सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा कलाकार खगेन्द नेपालको हुड्के नाचका साथै लीलाधर बाँस्कोटाको टिम, केवि शाही, महेन्द्र सेडाईँको टिम एवं कृष्णसार विद्या निकेतनका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कृति विमोचन पनि गरिएको थियो । महोत्सवमा नेपाल र भारतका सय जनाभन्दा बढी पर्यटन व्यवसायी, साहित्यकार तथा पत्रकारको सहभागिता रहेको थियो ।









