स्प्रिङ डेल स्कुलले मनायो १९औं वार्षिकोत्सव

नेपालगन्ज : बाँकेको स्प्रिङ डेल एकेडेमी नेपालगन्ज २० औं वर्षमा प्रवेश गरेको छ । साबिकको कारकाँदो गाविस वडा नं. १ (हाल नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोे)मा २०६२ सालमा स्थापना भएको विद्यालयले शनिबार १९औं वार्षिकोत्सव र पाक्कला उद्यान भव्य रुपमा मनाएकोे छ । कार्यक्रममा डेउडा गायक तथा संस्कृतिविद् यज्ञराज जोशीको गीतमा शिक्षक विद्यार्थी गोलबद्ध भएर स्टेजमै पनि डेउडा गीतमा नाचेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शरद्चन्द्र रावलले गुणस्तरीय शिक्षा र विभिन्न रचनात्मक अतिरिक्त क्रियाकलापमार्फत विद्यालयमा नमुना अभ्यास गरिरहेको बताए । उनले भने, ‘जिल्लामै पहिलो पटक हामीले पौडी प्रशिक्षक राखेर विद्यार्थीलाई पौडी सिकायौं । राष्ट्रिय प्रतियोगिता खेल्ने बनायौं । पश्चिम नेपालमै पहिलो पटक हाम्रा विद्यार्थीले संयुक्त राष्ट्रसंघ नमुना अभ्यास सभा, पालिका, प्रदेश र प्रतिनिधिसभा नमुना अभ्यास सभा आयोजना गरेका छन् । हामीले इन्टरनेशनल स्कुल अवार्ड पनि जित्यौं । अझै नयाँ नयाँ काम गर्न सकिन्छ कि भनेर योजना बनाइरहेका छौं ।’
लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकूलपति प्रा.डा.विनोेदप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यालयका ६ देखि १२ कक्षासम्मका विद्यार्थीले तयार पारेका जातीय र सांस्कृृतिक महत्वका विभिन्न पकवानहरु स्टलमा प्रदर्शनी र बिक्रीमा राखेका थिए ।

आफ्ना सन्तानले बनाएका खानाका परिकारहरु अभिभावकहरु पैसा तिरेर स्वाद लिइरहेका थिए । आफ्ना सन्तानले प्रस्तुत गरेका सांंस्कृतिक कार्यक्रमबाट पनि अभिभावक मन्त्र मुग्ध भएका थिए ।