रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र : स्थानीय तह र प्रदेशसँग समन्वय गर्ने

नेपालगन्ज : बाँके क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विवेककुमार श्रेष्ठले स्थानीय तह र प्रदेश सरकारसँगको समन्वय गर्दै काम गर्ने ५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
श्रेष्ठको प्रतिबद्धता पत्रको १ नं. बुँदामा बाँके जिल्लाको समग्र विकासको लागि गरिने कार्यहरु उल्लेख छ । जहाँ बाँकेलाई नमुना जिल्ला बनाउने खालका शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादन बजारीकरण र ब्राण्डिङका राष्ट्रिय गौरवका योजना सञ्चालनको स्रोत सुनिश्चित गर्न पहल गर्ने उल्लेख छ ।

दोस्रो नं. बुँदामा बाँके क्षेत्र नं. २ को विकासका लागि गरिने कार्यहरुमा नेपालगन्जलाई पश्चिम नेपालकै स्वास्थ्य प्रमुख स्वास्थ्य हबका रुपमा विकास गर्ने उल्लेख छ ।
उनले बुँदा नं. ३ मा लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरिने कार्यहरु, बुँदा नं. ४ मा नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्यहरु र ५ नं.मा डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यहरु उल्लेख गरेका छन् ।
सांसदको मुख्य काम संविधान, ऐन र कानुन बनाउने होे । विकास निर्माणका कार्यमा उसको समन्वय र पहल कदमीमा सांसदले अग्रसरता देखाउन सक्छ । योजना आवश्यक पर्ने र कार्यान्वयन गर्ने दुबै स्थानीय तह नै हुन्छ । विगतमा बाँकेमा एक जना सांसदले आफ्नो योजना भन्दै आफूखुसी गर्न खोज्दा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले ती योजना कार्यान्वयन गर्न मानेका थिएनन् । रकम नै फ्रिज भएको थियो । स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा ल्याएका योजना नै प्रभावकारी हुने अभ्यासले देखाएको छ । जिल्लाका अन्य उम्मेदवारले सबै काम आफूले गर्ने दाबी गरे पनि श्रेष्ठले समन्वय र सहकार्यमा योजना ल्याउने कुराको भने प्रशंशा हुन थालेको छ ।