डुबान-कटान, सडक र स्वास्थ्य उम्मेदवारका साझा प्रतिबद्धता
नेपालगन्ज : बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका ५ जना उम्मेदवारले डुडुवा गाउँपालिकामा हुने राप्ती नदीको डुबान र कटान, सडक पूर्वाधार विकास, स्वास्थ्यका पूर्वाधार विकासमा ध्यान दिने साझा प्रतिबद्धता जनाएका छन् ।
महेन्द्र पुस्तकालय नेपालगन्जको सामाजिक सरोकार उप–समितिको आयोजना र जुमा स्पोर्ट्स क्लबको सहकार्यमा बिहीबार नेपालगन्जमा आयोजित एजेण्डा बहस कार्यक्रममा नेकपा (एमाले)का मो.इस्तियाक राई, नेपाली कांग्रेसका सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राप्रपाका ऋषिराज देवकोटा र स्वतन्त्र उम्मेदवार शौभाग्यजंग शाहले एउटै मन्चमा बसेर साझा प्रतिबद्धता जनाएका हुन् । एजेण्डामा समानता प्रकट गरे पनि कार्यान्वयनको स्पष्ट खाका भने दिन सकेका थिएनन् ।
कांग्रेसका कोइरालाले नेपालगन्ज रिङरोड, डुडुवा क्षेत्रलाई डुबान र कटानमुक्त बनाउन आफ्नो पहल हुने बताए । कृषकहरुलाई समयमै मल दिने, नेपालगन्जमा ट्राफिक व्यवस्थापन सुधार, ग्रामीण र सहरी क्षेत्रलाई कसरी जोड्ने भन्ने विषयमा आफूले काम गर्ने कोइरालाले बताए । यसैगरी स्वास्थ्य, शिक्षा र युवा रोजगारीको विषयमा पनि संसदमा आफूले जोडदार आवाज उठाउने उनले उल्लेख गरे ।
एमालेका उम्मेदवार राईले किसानलाई समयमै मलखाद उपलब्ध गराउने, डुडुवा र राप्तीनदीको तटबन्धन, भेरी अस्पतालको स्तरवृद्धि, सामुदायिक विद्यालयको स्तरोन्नति, महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नति र रोजगारीको समस्या समाधान गर्न आफूले पहल लिने बताए ।
नेकपाका उम्मेदवार विष्टले योजना समयमै सम्पन्न गर्ने, युवाहरुलाई रोजगारीमा जोड्ने काममा आफूले प्राथमिकता दिने, सुशासन र भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाउने, गाउँदेखि सहरी क्षेत्रको व्यवस्थापनसम्मका योजनाहरु आफूले तयार गरेको, आफ्नो आइटी सेवामा अनुभव रहेकोले बाँकेमा पनि त्यस अनुभवलाई लिएर प्रविधिमैत्री सेवा प्रदान गर्ने र आइटी हबको योजना बनाएको उनले बताए ।
राप्रपाका देवकोटाले नगरभित्र ट्राफिक व्यवस्थापन र विकासका योजना, डुडुवामा कटान नियन्त्रणका लागि तटबन्धनको योजना आफ्नो रहेको बताए । डुडुवाको डुबान र कटानको समस्या समाधान गर्न राष्ट्रियस्तरकै परियोजना आवश्यक रहेको देवकोटाको भनाइ थियो ।
स्वतन्त्र उम्मेदवार शाहले नेपालगन्जका मुख्य समस्याहरुबारे आफूले संसदमा दह्रो ढंगले आवाज उठाउने बताए ।
पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले पुस्तकालयलाई सामाजिक विषयमा बौद्धिक विमर्शको केन्द्र बनाउन अभियान सुरु गरिएको र त्यसको पहिलो अंकमा समसामयिक विषयमा एजेण्डा बहस गरिएको बताए । बहसले लोकतान्त्रिक संस्कारलाई सघाउ पुर्याउने बताउँदै उनले आगामी दिनमा निरन्तरुपमा थप अरु विषयमा पनि बहस तथा छलफलहरु पुस्तकालयले सन्चालन गर्ने बताएका छन् ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुलाई विभिन्न ६ वटा प्रश्नहरुमा समान समय दिएर बोल्न लगाइएको थियो भने सहभागी दर्शकहरुबाट आएका प्रश्नका उत्तर पनि मागिएको थियो ।








