सिद्धार्थ किड्स साइकल रेसका विजेतालाई निःशुल्क स्विमिङ प्याकेज
नेपालगन्ज : सिद्धार्थ किड्स साईकल रेसका विजेताहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले निःशुल्क स्विमिङ प्याकेज दिने भएको छ ।
नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्राण्ड सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २८औं वार्षिकोत्सवको अवसरमा नेपालगन्ज साइक्लिङ क्लबको प्राविधिक सहयोगमा बिहीबार नेपालगन्जमा आयोजित चौथो संस्करणको ‘सिद्धार्थ किड्स साइकल रेस २०२६ का विजेतालाई पुरस्कारका स्वरूप यस्तो प्याकेज दिने भएको हो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका रिजनल एक्जिक्युटिभ डाइरेक्टर केशवराज न्यौपानेका अनुसारच्याम्पियनलाई २ महिना, प्रथम रनर अपलाई १ महिना र द्वितीय रनर अपलाई १५ दिनसम्म ट्रेनर सहितको निःशुल्क स्विमिङका साथै क्रमशः लन्च प्याकेज र खाजाको व्यवस्था गरेको छ। डाइरेक्टर न्यौपानेले वार्षिकोत्सवका अवसरमा विशेष गरी बालबालिकाहरूलाई खेलकुद मार्फत जोड्न पाउनु धेरै नै खुसी लागेको बताए । उनले प्रतियोगिताले बालबालिकाको शारीरिक विकासमा मात्र नभई नेपालगन्जलाई साहसिक पर्यटन र खेलकुदको केन्द्रका रूपमा राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। सिद्धार्थले केवल सेवा मात्र नभई यहाँको स्थानीय पर्यटन र सामाजिक उत्तरदायित्वलाई सधैं आफ्नो मूल मन्त्र मान्दै आएको छ ।
प्रतियोगितामा नेपालगन्जका विभिन्न विद्यालयका १०९ जना बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बिहिबार बिहान नेपालगञ्जको कारकाँदो चोकबाट सुरु भएको किड्स रेस होटल सिद्धार्थ नेपालगञ्जको मुख्य प्रवेश द्वारमा पुगेर समापन भएको थियो। किड्स रेस प्रतियोगिताको शुभारम्भ गर्दै नेपालगन्ज उप महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपक वर्माले बालबालिकाहरूलाई सानै उमेरमा खेलकुदका गतिविधिमा आकर्षित यस्ता प्रतियोगिताले ठुलो योगदान पुराउने बताए । उनले सानै उमेरदेखि बालबालिकालाई स्वास्थ्य र अनुसाशनमा सकारात्मक प्रभाव पार्ने गतिविधिहरू निरन्तर सन्चालन गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सफल बनाउन सिद्धार्थ हस्पिटालिटीका जनरल म्यानेजर बद्री कोइराला र रिजनल सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्ट लगायत होटलको सम्पूर्ण टोलीको सक्रिय व्यवस्थापन रहेको थियो। त्यस्तै, नेपालगञ्ज साइक्लिङ क्लब बाँकेका अध्यक्ष कविराम बुढाथोकी, किड्स रेसका संयोजक सुनिलसिंह हमालसहित क्लबका प्रतिनिधिहरूको प्राविधिक नेतृत्वले कार्यक्रमलाई व्यवस्थित बनाएको थियो। रेसलाइ सफल र सुरिक्षत बनाउन ट्राफिक प्रहरीले विशेष सहयोग पुर्याएको थियो ।
प्रतियोगितामा सहभागी १०९ जना बालबालिकाहरूलाई मेडल तथा प्रमाणपत्र र विजेताहरूलाई आकर्षक पुरस्कार वितरण गरिएको थियो। होटलको गेटमै फिनिसिङ प्वाइन्ट राखिएको यस रेसले बालबालिकामा नयाँ उर्जा भर्नुका साथै सिद्धार्थ होटलको आतिथ्यलाई स्थानीय स्तरमा अझ प्रगाढ बनाएको छ। सिद्धार्थको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित यो चौथो संस्करणको किड्स साईकल रेसले खेलकुद र पर्यटनको सुन्दर संयोजन प्रस्तुत गर्दै नेपालगञ्जको पर्यटकीय गतिविधिमा एउटा नयाँ इट्टा थप्ने सहभागी तथा आयोजकले विश्वास रहेको छन् ।








