नेकपाका उम्मेदवार दीपकको संकल्प पत्र : समृद्ध बाँके निर्माण
खजुरा (बाँके) : नेपाली कम्युनिष्ट पार्टीका बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक जी.एम.ले समृद्ध बाँके निर्माणको स्पष्ट मार्गचित्रसहित संकल्प पत्र प्रस्तुत गरेका छन् ।
नेकपा निर्वाचन परिचालन समितिले आइतबार बाँकेको खजुरामा आयोजना गरेको कार्र्यक्रममा उम्मेदवार जी.एम.ले सार्वजनिक गरेको संकल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने उल्लेख छ ।
ग्रामीण र शहरी क्षेत्रबीच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरूको स्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेटिएको छ। आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बीउ र प्रविधिको प्रयोग, पशुपालन तथा कृषि आधारित उद्योगको स्थापना गरी रोजगारी सृजना गर्ने लक्ष्य लिइएको छ। युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसर प्रदान गरिने प्रतिबद्धता गरिएको छ।
संकल्प पत्रमा संस्थागत सुधार र सुशासनलाई पनि जोड दिइएको छ। जटिल कानुनी प्रावधान संशोधन गर्दै जनमैत्री कानुन निर्माणमा पहल गरिने र सरकारी सेवा प्रवाहलाई सरल, सहज तथा पारदर्शी बनाइने उल्लेख गरिएको छ।
संकल्प पत्र सार्वजनिक गर्दै जी.एम.ले जनताको दुःख–सुखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै बाँकेलाई समृद्ध, शिक्षित र सुरक्षित जिल्ला बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको बताए ।
निर्वाचन परिचालन समितिका संयोजक राजकुमार बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य आइपी खरेल, अब्दुल हुसेन खाँलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।








