सभापति थापा हेलिकोप्टरमा बाँके आए र भने, ‘४६ पछि सत्तामा बसेका सबैको छानबिन गर्छु’

नेपालगन्ज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि प्रधानमन्त्री र मन्त्रीबारे छानबिन गर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले बिहीबार बाँकेको जानकी गाउँपालिका ३ मानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न सुर्खेतको वीरेन्द्रनगरबाट हेलिकोप्टर चढेर आएका सभापति थापाले २०४६ पछि सत्तामा बसेका प्रत्येक ब्यक्तिको छनबिन गरी भ्रष्टाचार ठहर भएका कारबाही गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘२०४६ सालपछि सत्तामा बसेका प्रत्येक ब्यक्ति (म पनि मन्त्री भएको हुँ, शेरबहादुर देउवा प्रधानमन्त्री) प्रत्येकको सम्पत्ति छानबिन हुन्छ । प्रत्येक काण्डको छानबिन हुन्छ । मेरै घरको परिवारको आफ्नै सदस्य परे भने पनि, म परे पनि एक जना मान्छेले उन्मुक्ति पाउँदैन । कानुन बनाएर गर्छु । सुशासनको संकल्प यो हो । संयन्त्र बलियो बनाएर गर्छु ।’

गएको आठ बर्ष गति र मति दुबै ठीक नहुँदा मुलुक विकास र सुशासनको राजमार्गमा दौडिन नसकेको उनको भनाइ थियो । अबको पाँच बर्ष रोजगारी, विकास, सुशासन र समृद्धिको बर्ष बनाउने संकल्प कांग्रेसले लिएको उनको भनाई छ । उनले बाँके बर्दियाका पाँचै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउन पनि आह्वान गरे ।
नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सभालाई केन्द्रीय उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति एवम् बाँके-३ का उम्मेदवार अमरसिंह पुन, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् चुनाव प्रचार-प्रसार समिति संयोजक राजु खनाल, बर्दिया-२ का उम्मेदवार किशोरसिंह राठौर, बर्दिया-१ का उम्मेदवार संजय गौतम, बाँके-१ का उम्मेदवार नारायणप्रसाद गौडेल, बाँके-२ का उम्मेदवार शुधान्सु कोइराला लगायतले सम्बोधन गरेका थिए ।

कांग्रेसले बिहीबार सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो भने शुक्रबार रुपन्देहीको बुटवल र कास्कीको पोखरामा अनि शनिबार काठमाडौंमा चुनावी सभा तय गरेको छ ।
.