महिला समूहमा मतदाता शिक्षा अभिमुखीकरण
संजय आचार्य । गुलरिया
आसन्न २१ फाल्गुणमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलित महिला सङ्घ बर्दियाले महिला समूहका सदस्यहरूलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बाँसगढी नगरपालिका र मधुवन नगरपालिकामा गरी ७५ जना महिलालाई मतदाता शिक्षाबारे जानकारी गराइएको हो।
दलित महिला संघका अनुसार बाँसगढी नगरपालिका वडा नं. ४ मा करिब ४० जना र मधुवन नगरपालिका वडा नं. ९ मा करिब ३५ जना सहभागीलाई मतदाता शिक्षा प्रदान गरिएको थियो ।
कार्यक्रममार्फत सहभागी महिलाहरूलाई मतदान किन आवश्यक छ, आफ्नो मत सही तरिकाले कसरी प्रयोग गर्ने, तथा मतदाताको अधिकार र कर्तव्यबारे विस्तृत जानकारी दिइएको जनाइएको छ।
दलित महिला सङ्घ बर्दियाकी अध्यक्ष हेमा सुनारले दलित महिला तथा जनजाति महिलाहरूमा निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको बताइन्। उनका अनुसार कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबारे अभ्यास गराउनुका साथै महिला, दलित र अल्पसंख्यक समुदायका मुद्दा राजनीतिक दलहरूसमक्ष कसरी प्रभावकारी रूपमा उठाउने भन्ने विषयमा पनि प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले मतदाता शिक्षाले आफूहरूलाई निर्वाचन प्रक्रियाबारे स्पष्ट बुझाइ दिएको प्रतिक्रिया दिएका छन्। निर्वाचनमा सचेत र जिम्मेवार मतदाता बन्न यस प्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
दलित महिला सङ्घ बर्दियाको आयोजनामा सम्पन्न उक्त अभिमुखीकरणले स्थानीय तहमा महिला सशक्तीकरण र लोकतान्त्रिक सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









