वाटरपार्क क्षेत्रबाट १०४ किलो फोहोर संकलन

नेपालगन्ज : पर्यटकीय गन्तव्य नेपालगन्जको वाटरपार्क क्षेत्रबाट १०४ किलो फोहर संकलन गरिएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)द्वारा सञ्चालित ग्रीन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत शनिबार वाटरपार्कमा सरसफाई गरिएको थियो ।
बास नेपालको तालिम प्राप्त २० जना स्वयंसेवहरु, कार्य समिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सरसफाईकर्मीले संयुक्त रुपमा सरसफाइ गरेका थिए ।
वाटरपार्क क्षेत्रमा रहेको फोहोरलाई संकलन गरी वर्गीकरण गर्नुका साथै पुन प्रयोग गर्ने सकिने र नसकिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । बास नेपालका परियोजना संयोजक मन भण्डारीका अनुसार संकलन गरिएको फोहरमा ४५ किलो प्लाष्टिक, २५.३५ किलो शीशा, ६.४७ किलो प्लाष्टिक बोतल, २८.१६ किलो विविध मिसावाट गरिएको फोहोर गरी जम्मा १०४.९३ किलो फोहर रहेको छ । संकलन गरिएको फोहरको सुरक्षित व्यवस्थापनको लागि वडाको समन्वयमा ल्याण्डफिल्ड साइटमा लगिएको छ ।