नेपालगन्जका विद्यालयमा शून्य फोहर कार्यक्रम प्रभावकारी बन्दै !
नेपालगन्ज : बाँकेमा विद्यालयमा शून्य फोहर कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)द्वारा सञ्चालित ग्रीन नेपालगन्ज सामुदायिक फोहर रुपान्तरण परियोजना अन्तर्गत सञ्चालित विद्यालयमा शून्य फोहर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।
नेपालगन्जको श्री देउतादिन मावि, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुल्टेक्रा माविमा अनुगमन गरिएको थियो ।
कार्यक्रमको प्रभावकारिताको विषयमा गरिएको अनुगमनका क्रममा सरोकारवाला अधिकारीहरूले विद्यालय तथा विद्यार्थीहरूमा फोहर व्यवस्थापन, फोहरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दीगो वातावरणीय अभ्यासको सुरुवात गराएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका थिए । सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताएका थिए ।
अनुगमनका क्रममा विद्यालयहरूमा कुहिने र नकुहिने फोहरलाई छुट्याउने व्यवस्था, ‘रिड्युस, रियुज र रिसाइकल’को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको थियो ।
कार्यक्रम अन्तर्गत विद्यार्थीलाई फोहर तथा फोहोर सम्बन्धी अभ्यासहरुको परिचय, फोहोर बर्गिकरण यसको बुझाई,, थ्रीआर विधि, फोहरबाट कम्पोष्टको उत्पादन, फोहर जलाउँदा हुने असरहरु, विद्युतीय फोहर ब्यवस्थापन र फोहर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको छ । यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ ।
अनुगमनमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रिय अध्यक्ष शिवकुमार वर्मा, महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य वसन्ती रोकाय, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक मन भण्डारी, कार्यक्रम अधिकृत रविन्द्र बोहरा लगायत सहभागी थिए ।








