६० प्रतिशत मत खसेको अनुमान : निर्वाचन आयोग
नेपालगन्ज : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।आयोगले बिहीबार साँझ सवा ६ बजे आयोजित पत्रकार सम्मेलनमार्फत बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा निर्वाचन सम्पन्न भएको जनाएको होे ।
‘छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ’, आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशभरबाट प्राप्त विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। यसको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ। मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको छ।’
दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ। जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम पूर्वी भागका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्याउने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम ९पश्चिम भाग०, मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्याइनेछ।





