आधा बढी मत गणना : बाँके १ र ३ मा रास्वपा र २ मा एमाले निरन्तर अग्रतामा
नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा आधा भन्दा बढी मत गणना भइसक्दा क्षेत्र नं. १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवारले निरन्तर अग्रता लिएका छन् ।
बाँके १ का मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार राति ८ः२३ सम्म गणना गरिएको ४३ हजार २० मत मध्ये रास्वपाका सुरेशकुमार चौधरीले २२ हजार ४ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले ८ हजार ३ सय ८१ मतले पछ्याइरहेका छन् । चौधरी गौडेल भन्दा १३ हजार ६ सय २३ मत बढी ल्याएका छन् । चौधरीको अग्रता लिएको मत मात्र पनि गौडेलले ल्याएको कूल मत भन्दा ५ हजार २ सय ४२ मत बढी छ । एमालेका सूर्यप्रसाद ढकालले ५ हजार ८ सय २४ मत ल्याएका छन् । नेकपाका नरेन्द्रप्रसाद पाण्डेको २ हजार ९ सय ६० र राप्रपाका प्रदीपकुमार शाहको १ हजार ७६ मत आएको छ । बाँके क्षेत्र नं. १ मा ७५ हजार १ सय ९९ मत खसेकोमा अझै ३२ हजार १ सय ७९ मत गणना गर्न बाँकी छ ।
बाँके क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राति ८ः४० सम्ममा एमालेका मोहम्मद इस्तियाक राईले १२ हजार ८ सय २४ मत ल्याएर अग्रता लिएका छन् । उनलाई रास्वपाका विवेककुमार श्रेष्ठले ९ हजार १ सय ५७ मत ल्याएर पछ्याइरहेका छन् । यी दुईबीच ३ हजार ६ सय ६७ मतकोे अन्तर छ । कांग्रेसका सुधांशु कोइराला ९ हजार ६७ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन् । यसअघि कोइराला निरन्तर दोस्रोमा थिए । राप्रपाका ऋषिराज देवकोटाले ८ सय ३ मत, नेकपाका दीपेन्द्र विष्टले ७ सय ५० मत, जसपाका कमरुद्दिन राईले २२३ मत मात्र ल्याएका छन् । बाँके क्षेत्र नंं. २ मा ७२ हजार ६ सय ९ मत खसेको थियो ।
बाँके क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत दशरथ गौतमका राति ८ः३२ बजेसम्म अनुसार ३५ हजार २ सय ५४ मत गणना हुँदा रास्वपाका खगेन्द्र सुनार १६ हजार २२ मतल अग्र स्थानमा छन् । एमालेका सुमन मल्ल ८ हजार ७ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । यी दुईबीच ७ हजार २ सय ८५ को अन्तर छ । कांग्रेसका अमरसिंह पुनले ५हजार २ सय ७० मत ल्याएका छन् । नेकपाका दीपककुमार गौरी मगरले १ हजार ८ सय २ र राप्रपाका तारकसिंह थारुले १ हजार २ सय ३० मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा अझै ३९ हजार ३ सय ४ मत गणना हुन बाँकी रहेको छ ।





