बाँकेमा लगातार अग्रता लिँदै चौधरी, राई र सुनार विजयी
नेपालगन्ज : बाँकेको तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारको एउटै संयोग परेको छ, ‘लगातार अग्रता लिँदै लिँदै अन्तिममा विजय यात्रा सुनिश्चित भएको छ ।’ जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले विजयी भएको हुन् । विजेता तिनै जनाले निरन्तर अग्रता कायम राखेका थिए ।
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निकटतम् प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लडेर तेस्रो स्थानमा रहेका चौधरीले ३२ हजार ७ सय ९२ मत ल्याएर हारको बदला लिएका छन् । जबकी कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३ सय १ मत ल्याए । साबिक विजेता एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत मात्र ल्याएर तेस्रो भए ।
बाँके क्षेत्र नंं. २ मा नेकपा (एमाले)का मोहम्मद इश्तियाक राई २४ हजार ६ सय ४७ मत ल्याएर विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विवेकुमार श्रेष्ठ १८ हजार ६७९ मत ल्याएर दोस्रो भए । कांग्रेसका सुधांशु कोइराला १७ हजार ५ सय ९६ मत ल्याएर तेस्रो भए । साबिक विजेता राप्रपाका ऋषिराज देवकोटाले १ हजार ७ सय २३ मत ल्याएर चौथोमा चित्त बुझाउनु परेको छ ।
बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । पत्रकार हुँदै दलित अभियन्ता बनेका दैलेखका खगेन्द्र सुनारले २९ हजार ५ सय ५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत ल्याए । सुनार ९ हजार ९ सय ३६ मतान्तरले विजयी भएका हुन् । साबिक विजेता कांग्रेसका अमरसिंह पुनले १३ हजार २ सय १५ मत ल्याएर तेस्रो भए ।
२०४६ सालपछि बाँकेमा भएका सबै निर्वाचन क्षेत्रमा अहिलेसम्म कुनै पनि दल वा उम्मेदवारले लगातार दोहोर्याएर चुनाव जितेको इतिहास छैन । हरेक निर्वाचन क्षेत्रमा पार्टी र उम्मेदवार नयाँ नयाँ निर्वाचित भएका छन् । २०८२ सालको निर्वाचनमा दल हरेर भन्दा उम्मेदवार हेरेर मतदाताले निर्वाचित गरेको देखिन्छ ।





