अन्तर्राष्ट्रिय नारी दिवसमा अछामी सेवा समाजको भव्य देउडा खेल

नेपालगन्ज : अछामी सेवा समाज बाँकेले ११६औं अन्तर्राष्ट्रिय नारी दिवसमा भव्य देउडा खेलेर मनाएको छ । समाजले आइतबार नेपालगन्जको बसपार्क पिपल चौतारास्थित समाजको कार्यालयमा सबै महिला र बालिकाका लागि अधिकार न्याय र कार्यसहितको अवसर भन्ने नाराका साथ देउडा खेल आयोजना गरेको हो ।
सो अवसरमा अछामी सेवा समाजका अध्यक्ष पुष्कर बहादुर खड्‌काले अन्तराष्ट्रिय नारी दिवसको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा समाजका सल्लाहकार खड्‌ग बोहराले नारी छोरी र आमा सम्बन्धी कविता वाचन गरेका थिए । समाजका कार्य समिति सदस्य खगेन्द्रप्रसाद न्यौपानेले हास्यब्यङ्ग नाटक प्रस्तुत गरेका थिए । साना नानीहरुले नृत्यबाट मनोरञ्जन प्रदान गरेका थिए ।
समाजका महिला उप समिति संयोजक सरस्वती बुढाको अध्यक्षता र सल्लाहकार दिया स्वाँरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, समाजका निवर्तमान अध्यक्ष टेकबहादुर खड्‌का, दैलेखी सेवा समाजका अध्यक्ष पूर्णदेव गिरी र दमयन्ती फाउण्डेशन नेपालका अध्यक्ष इन्दु जिसी रावलले नारी दिवसको शुभकामना ब्यक्त गरेका थिए ।
खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले स्वागत गरेको कार्यक्रममा कार्यक्रम सञ्चालन समाजका कार्य समिति सदस्य रूपाली धामीले गरेकी थिइन् । समाजका अध्यक्ष पुष्करबहादुर खड्‌काले प्रमुख अतिथि दिया स्वाँर लगायत नृत्य टिमलाई सम्मान गरेका थिए ।